काठमाण्डौ । इतिहासमै सबैभन्दा खराब समयमा गुज्रिरहेको पाकिस्तानको आर्थिक अवस्था अझै सुधार हुने छाँटकाँट देखिएको छैन । 

चरम आर्थिक संकटका कारण पाकिस्तानमा गरीबीको संख्यामा समेत लगातार बढोत्तरी भइरहेको छ । 

मिडिया रिपोर्टहरुका अनुसार विश्व बैंकले गत वित्त वर्षमा पाकिस्तानको गरिबी दर बढेर ३९.४ प्रतिशत पुगेको भन्दै थप सचेत हुन आग्रह गरेको छ । 
निकै कमजोर आर्थिक अवस्थाका कारण पाकिस्तानका थप १ करोड २५ लाख नागरिक गरिबीको रेखामुनि धकेलिएका छन् । 

विश्व बैंकले पाकिस्तानमा गरिब कति छन् भनेर आँकडा समेत पेश गरेको छ, जसले त्यहाँ गरीबीको अवस्था कुन स्तरमा बढिरहेको छ भन्ने देखिन्छ ।

पाकिस्तानमा एक वर्षभित्रै ३४.२ प्रतिशतले गरिबी बढेर ३९.४ प्रतिशत पुगेको छ । यो संख्या अब पाकिस्तानमा गरीबीको मार भोग्ने जनसंख्या ९ करोड ५० लाख माथि पुगेको छ । 

विश्व बैंकले पाकिस्तानमा आगामी सरकारका लागि तयार गरेको एक मस्यौदा नीति अनावरण गर्दै आर्थिक अवस्था सुधारका लागि उपयुक्त नीतिगत व्यवस्था गर्नुपर्नेमा समेत जोड दिएको छ । 

वित्तीय स्थायीत्वका लागि पाकिस्तानले तत्काल धेरै ठूला कदमहरु उठाउन आवश्यक रहेको विश्व बैंकको सुझाव छ । 

पाकिस्तानका लागि विश्व बैंकका प्रमुख अर्थशास्त्री टोबियास हकले भनेका छन् कि पाकिस्तानले अंगिकार गरिरहेको आर्थिक मोडलबाट गरीबहरुको उद्धार सम्भव छैन, बरु उल्टो थप गरिबी बढ्नसक्ने जोखिम देखिन्छ । 

विश्व बैंकले रियलस्टेट र कृषि क्षेत्रमा कर लगाउन तथा अनावश्यक खर्च कटौति गर्न पाकिस्तान सरकारलाई सुझाव समेत दिएको छ । हकका अनुसार पाकिस्तान अहिले गम्भीर आर्थिक तथा मानव विकासको संकटमा फसेको छ र यसबाट पार पाउन ठूला ठूला नीतिगत परिवर्तन आवश्यक छ ।