काठमाण्डौ । जीवनपद्धति प्रविधियुक्त हुँदै जाँदा संस्कृति पनि त्यसबाट अलग रहिरहन सक्दैन। ५० वर्षअघिको दसैँ र त्यसका चालचलन अहिले खोजेर पनि हुँदैन ।अहिले हात हातमा मोबाइल छ। बैकिङ एप प्रयोग गरी दक्षिणा तथा एकै पटक शुभकामना दिन सकिन्छ।

पहिले पो केही सुविधा थिएन ।प्रविधि निर्माताले भने दक्षिणाको भर्चुअल आदानप्रदानलाई सहज बनाउँदै विभिन्न ‘एप’ विकास गरिसकेका छन् ।  सोही प्रविधिमार्फत्  आजभोलि लाइभ भीडीयोाबट टीका थापेपछि तिनै एपमार्फत दक्षिणा लेनदेन गर्ने प्रचलन पनि बढेको छ ।

यसकै लागि विभिन्न बैंक तथा विभिन्न डिजिटल वालेट सेवा प्रदायकले यो वर्ष पनि दसैँ लक्षित ‘अफर’ ल्याएका छन्। ती कम्पनीहरुले ई–बैंकिङ तथा डिजिटल वालेटबाट दक्षिणा पठाउँदा सहुलियत दिइने वा निश्चित प्रतिशत रकम थप गरिदिने भन्दै ग्राहक लोभ्याउन अफर ल्याएका छन्।

केहिदिन अघि मात्र ग्लोबल आइएमई बैंकले डिजिटल दक्षिणा योजना ल्याएको छ । जसअनुसार कम्पनीले ग्लोबल स्मार्ट प्लसमार्फत् दक्षिणा दिंदा १० प्रतिशत क्यासब्याक हुने बताएको छ ।

टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत ९ १०० रुपैयाँसम्म० कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्षिणा स्वरुप तुरुन्तै क्यासब्याक दिनेछ । ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड लेखेर पैसा ट्रान्सफर गर्नुपर्नेछ ।यो दिन कम्पनीका खातावाल ग्राहकले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बैंकबाट दक्षिणा पाउने छन् ।

‘डिजिटल दक्षिणा’ ले दसैँलाई प्रविधि अनुकूल मात्र नबनाई देशलाई नयाँ नोट छाप्नुपर्ने भार समेत कम गर्न मद्धत गरेको छ । हुन त दसैँको मौकामा नयाँ लुगा पाउनु, परिवार र आफन्त भेट्नुको मज्जै अर्को छ । अझ यसैमा जोडिने कटकट नयाँ नोट । हुन त नेपालमा कागजी नोटको प्रचलन विसं २००२ असोजबाट शुरु भएको हो। कागजी नोटको  शुरुवात दसैँको समयमा भएकाले नयाँ कटकट खोज्ने चलन अझै हुनु स्वभाविकै हो ।

नयाँ नोट छपाइमा ठूलो लागत लाग्ने र त्यसको लागि देशबाट ठूलो परिमाणमा मुद्रा  बाहिर जान्छ । प्रत्येक वर्ष दसैँमा बजारमा पठाइने नयाँ नोट पूजा गर्दा रङको प्रयोग हुनुका साथै पानीमा भिज्ने भएकाले चाँडै झुत्रो हुने गर्छ । माछा–मासु पसलमा मासु काटेको हातले पैसाको कारोबार गर्ने, यातायातका साधनमा भाडा उठाउँदा नोटलाई खुम्च्याउने जस्ता कारण पनि नोट चाँडै झुत्रा हुने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

तर, पछिल्ला वर्षहरूमा नोटको प्रयोगमा केही सुधार भएको र डिजिटल दक्षिणाको उपयोग बढ्न थालेको उनीहरूको भनाइ छ । 

नेपाल राष्ट्र बैंकले पछिल्लो समय डिजिटल बैंकिङलाई प्रोत्साहन गरिरहेको छ । नोटको प्रयोग नै कम गर्न  पछिल्लो समय डिजिटल कारोबार पनि बढ्दो अवस्था छ । चाडपर्वहरूमा डिजिटल दक्षिणा प्रभावकारी हुँदै गएको छ । तर कतिपयले चाहिं चाडबाडमा डिजिटल दक्षिणाका लागि सामाजिक र सांस्कृतिक समस्या रहेको बताउने गरेका छन् ।

नेपालको संस्कृति र परम्पराको रूपमा दसैँमा नयाँ नोटको प्रयोग विकास भएकोले यसलाई एकैपटक हटाउन गाह्रो रहेको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्ट बताउँछन् । उनले नयाँ नोट छपाईमा लागत बढेको र वित्तीय साक्षरता बारे सचेतना बढ्न सकेमा डिजिटल दक्षिणाको संस्कृतिको विकास बढ्ने बताए ।