काठमाण्डौ । दशैंका लागि आवश्यक नयाँ र सुकिला नोट साट्न काठमाण्डौ उपत्यकाबासीले नेपाल राष्ट्रबैंक नै धाउनुपर्ने बाध्यता यो वर्षदेखि हट्ने भएको छ । 

नेपाल राष्ट्रबैंकले सरकारी लगानीका बैंकहरुको उपत्यकास्थित केही शाखाहरुबाट सहजै सीमित मात्रामा नयाँ र चाहिए जति सुकिला नोट  पाउन सकिने व्यवस्था गरेको हो। 

राष्ट्रबैंकले असोज १० देखि १७ गतेसम्म रु. ५, १०, २०, ५० र १०० दरका एक÷एक पाकेट गरी प्रति व्यक्ति अधिकतम १८ हजार ५०० रुपैयाँ बराबरको नयाँ नोट सटहीको व्यवस्था मिलाउनेछ ।

केन्द्रीय बैंकले १८ हजार ५०० रुपैयाँ भन्दा बढी साना दरका रकम चाहिनेहरुलाई थप रकमका लागि सुकिला नोट उपलब्ध गराउने नीति लिएको छ । 

काठमाण्डौ उपत्यकामा नेपाल बैंक लिमीटेडका न्यूरोड, किर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट साट्न पाइनेछ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा(केन्द्रीय कार्यालय), सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ तथा सुकिला नोट साट्न पाइने व्यवस्था गरिएको छ । 

केन्द्रीय बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक लिमीटेड र नेपाल बैंक लिमीटेडका सबै शाखा कार्यालयहरुबाट समेत सुकिला र सीमित मात्रामा नयाँ नोटहरु सटहीको सुविधा उपलब्ध हुने बताइएको छ ।

राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार दशैंम खासगरी साना दरका नयाँ तथा सुकिला नोटको उच्च माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार तथा विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालय तथा राष्टिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक लिमीटेडका उपत्यकास्थित तोकिएका शाखाबाट नोट पाइने व्यवस्था गरिएको छ । 

यस्तै, राष्ट्रबैंकले अन्य वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुबाट समेत सीमित मात्रामा नयाँ र सुकिला नोट सटहीको व्यवस्था मिलाइएको प्रष्ट्याएको छ । 

यसैबीच, केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले दशैंमा टिका लगाई दक्षिणा दिंदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रंग लागेका वा मैलिएका हातहरुले नोटहरु छुँदा त्यस्ता नेट चलनचल्तीमा आउन नसक्ने भन्दै सचेतता अनपाइनदिन देशबासीलाई आह्वान गरेकोछ ।
नेपाली नोटमा कुनै पनि बाहानामा रंग लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार बिगार्ने जस्ता कार्य गरेमा कानूनी कारबाही हुने समेत प्रष्ट पारेको छ ।