– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने १ दिनमात्रै घटेको छ। 

अघिल्लो साता २००७.०६ मा बन्द भएको बजार यो साता २०२९.७८ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा २२.७२ अंकको सुधार आएको छ। अघिल्लो साता करिब ७५ अंकले बजारमा बढोत्तरी आएको थियो। योसँगै दोस्रो बजारमा लगातार २ साता बढोत्तरी आएको छ। 

यो साता बजारमा ७ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता ५ अर्ब २२ करोड रुपैयाँको मात्रै भएको थियो। यस हिसाबले यो साता बजारमा कारोबार र भोलुम दुवैमा बढेको छ। 

पछिल्लोपटक १९३० बाट फर्केको बजार २ सातामा पछिल्लो न्यून विन्दुबाट १०० अंकले बढेको छ। यो साता बजार पुँजीकरण ३० खर्ब ७४ अर्ब पुगेको छ। अघिल्लो साता बजार पुँजीकरण ३० खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो। यो साता ७० अर्बले बजार पुँजीकराण बढेको छ। 

डाउ थेउरी र इलिअट वेभका आधारमा 

पछिल्लोपटकको बजारलाई डाउ थेउरीमार्फत नियाल्दा  करिब २२४० बाट खसेको बजारले लोवर लो र लोवर हाईका सिरिज बनाउँदै खसकेको थियो। १९३० मा लोवर लो बनाएर बजार पुनः यो साता करिब २०३० को विन्दुमा बन्द भएको छ। बजारले गएका २ सातामा २०१० मा हायर हाई र १९६० मा हायर लो बनाएको छ। त्यहाँबाट फर्केको बजारले यो साता २०३० मा नयाँ हायर हाई बनाएको छ। 

यसरी डाउ थेउरीबाट हेर्दा बजारले हायर हाई र हायर लोका सिरिज बनाउँदै माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ। यो सिरिज भ्यालिड नै रहन भने बजार पुनः खसेमा पनि १९६० भन्दा माथि–माथि नै टिक्नुपर्ने हुन्छ। 

बजारलाई इलिअट वेभबाट हेर्दा दसैँअगाडिको अबको १९ कारोबारमा बजारले एउटा सानो चक्र भने पूरा गर्न सक्छ। पछिल्लोपटकको न्यून विन्दु १९३० बाट बजारलाई नियाल्दा वेभ–१ मा बजार  २०१० र वेभ–२ मा बजार करेक्नस भएर १९६० सम्म पुगेको देखिन्छ। 

हालको बढोत्तरी वेभ–३ मा बजार २०८० सम्म र वेभ–४ मा पुनः करेक्सन भएर २०५० सम्म आउन सक्छ। वेभ–५ मा २१६० सम्म पुगेर बजारले दसैँलाई स्वागत गर्न सक्छ। केही गरी वेभ–५ एक्सटेन्डेड भएमा बजार २२०० माथि पनि दसैँ अगाडि पुग्न सक्नेछ। 

बोलिंगर ब्यान्डका आधारमा

बोलिङगर ब्यान्डमार्फत हेर्दा यो साताको बजारलाई साप्ताहिक रुपमा हेर्दा मध्य ब्यान्डभन्दा माथि टिकेको छ। अघिल्लो साता नेप्सेमा बुलिस इन्गल्फिङ क्यान्डल बनेको थियो। यो साता ह्याम्मर प्रकृतिको क्यान्डल बनेको छ। भोलुममार्फत हेर्दा बजारमा यो साता अघिल्लो साताको तुलनामा कारोबार र भोलुम दुवै बढेको छ। 

म्याक्डीमार्फत हेर्दा भने बजार साइडवेज प्रकृतिको क्यान्डल बनेको छ। आरएसआईबाट हेर्दा हाल न्युट्रल जोन ५१ को तहमा रहेको छ। समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा बजारले माथिको यात्रा तय गर्दै गरेको देखिन्छ।

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतार–चढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

प्रतिरोध ३ –२२२०
प्रतिरोध २ –२१७२
प्रतिरोध १– २०८१

पिभट प्वइन्टः २०३३

घटेमा सपोर्ट 

सपोर्ट १– १९४२
सपोर्ट २– १८९४
सपोर्ट ३– १८०३

निष्कर्ष

बजार लगातार २ साता बढेको छ। अघिल्लो साता करिब ७५ अंकले बढेको बजार यो साता करिब २३ अंकले बढेको छ। बजारलाई डाउ थेउरीमार्फत हेर्दा हायर हाई र हायर लोका सिरिज बन्दै गरेको देखिन्छ। यसले बढ्दो बजारलाई बुझिन्छ। 

पिभटमार्फत हेर्दा बजार अझै पनि पिभट प्वइन्टभन्दा तल नै रहेको छ। २ साता लगातार १०० अंक बढेको बजारमा आगामी साता २०६० देखि २०८० सम्म पुगेपछि केही अंकको करेक्सन आउन सक्छ। इलिअट वेभमार्फत हेर्दा बजार दसैँ अगाडि पुनः एकपटक २२०० सम्म पुग्न सक्ने देखिन्छ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।