काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँका लागि नयाँ नोट सटहीको व्यवस्था गर्न आन्तरिक तयारी गरिरहेको छ। 

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले नयाँ नोट सहटीको व्यवस्था गर्न अहिले आन्तरिक तयारी भइरहेको बताए। ‘सर्वसाधारणलाई सरल र सहज ढंगले नयाँ नोट वितरण गर्न आवश्यक योजना बनाउने काम सम्बन्धित विभागबाट भइरहेको छ’, उनले भने। 

यसपालि सर्वसाधारणले नयाँ नोट सटहीका लागि क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था पनि गरिने सहप्रवक्ता पोखरेलले जानकारी दिए। ‘क्यूआर कोडबाबाट भुक्तानी अनिवार्य भने होइन तर ग्राहकको सहजताका लागि यो व्यवस्था गर्न लागिएको हो’, उनले भने। 

यसअघिका वर्षहरुमा नयाँ नोट सटहीका लागि क्यूआरबाट भुक्तानी गर्ने व्यवस्था गरिएको थिएन। 

यसपालि पनि सम्भवतः प्रतिव्यक्ति १८ हजार ५०० रुपेयाँबराबरकै नयाँ नोट सटहीको सुविधा हुन सक्ने सहप्रवक्ता पोखरेलले बताए। ‘५, १०, २०, ५० र १०० को एक–एक बन्डल नयाँ नोट सटही व्यवस्था हुन सक्छ’, उनले भने, ‘यद्यपि, छिट्टै यसबारे निर्णय हुनेछ र सूचना जारी हुनेछ।’

घटस्थापनाको आसपासबाट नयाँ नोट सहटीको सुविधा सुरु हुन सक्ने सहप्रवक्ता पोखरेलले जानकारी दिए।