काठमाण्डौ । एनआइसी एशिया बैंकले दार्चुलाको २ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । 

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि यु. के. एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुला जिल्लाको महाकाली नगरपालिका, वडानं.७ धाप र महाकाली नगरपालिका वडा नं.९ दत्तुमा आफ्नो २१ औंर २२ औंशाखारहित बैंकिङ्ग सेवा पुस १७ र १८ गतेबाट संचालनमा ल्याएको हो ।

बैंकले महाकाली नगरपालिका, वडा नं.७ धापमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले गरेका थिए । सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा शेरसिंह रैखोलालाई नियुक्त गरिएको बैंकले जनाएको छ । 

यस्तै,महाकाली नगरपालिका,वडा नं.९ दत्तुमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन महाकाली नगरपालिका, वडा नं.९का वडा अध्यक्ष हरसिंह डाँगाले गरेका थिए । सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा कृष्णसिंह चौैसिर नियुक्त भएका बताइएको छ।

शाखारहित बैंकिङ्ग सेवाबाट विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । 

सो सेवाबाट बैंकिङ्ग कारोबारका लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिँड्नु पर्ने बाध्यताको अन्त गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा समेत वित्तीय सवलीकरण भई बैंकिङ्ग कारोबारको बिस्तार हुने विश्वास बैंकले लिएको छ । 

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा(जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्ने जस्ता कार्यहरु गर्न सक्नेछन् । 

हाल एनआइसी एशिया बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन् ।