काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले असार १६ गते स्तन क्यान्सरबाट पीडित गायत्री पौडेललाई आर्थिक सहयोग गरेको छ । 

काठमाण्डौ बसुन्धरा निवासी पौडेल २०७४ साल पुुस महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकी छिन् । पौडेल परिवारको आर्थिक स्थिति निकै नै कमजोर रहेको र उपचारका लागि अझ धेरै रकम लाग्ने भएकाले, उपचारका क्रममा सहयोग गर्ने हेतुले बैंकले रु. १५,०००  को चेक पीडित गायत्री पौडेललाई हस्तान्तरण गरेको विज्ञप्तिमार्फत जनाएको छ ।  

यसैगरी, उपाचारार्थ आर्थिक सहयोग गर्ने क्रममा केन्द्रीय कार्यालयले सुखटीया ५, कालीकोट निवासी बसन्तीकुमारी शाहीलाई पनि सहयोग गरेको छ । २० वर्षीय शाहीको दुवै मृगौला फेल भएको हुँदा मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको खुलासा वीर अस्पतालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले गरेको छ । पीडितको परिवारलाई मृगौला प्रत्यारोपणको खर्चमा केही सहयोग गर्ने मनसायले बैंकले १५,००० को चेक पीडित बसन्तीकुमारी शाहीलाई हस्तान्तरण गरेको हो । 

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि यस्ता खाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।