काठमाण्डौ । नेपालको बैंकिङ उद्योगमा हालसम्मकै आकर्षक भीएसआर प्याकेज(स्वेच्छिक अवकाश प्याकेज) पाइने भएपछि कुमारी बैंकका दुई डेपुटी सीइओसहित २८ उच्च कर्मचारीले जागिर छाडेका छन् ।
कुमारी बैंकका डेपुटी सीइओद्वय राजीव गिरी र उमेशसिंह भण्डारी लगायतका उच्च कर्मचारीहरुले आकर्षक भीएसआरको स्किम रोज्दै जागिर छाडेका हुन् ।
बैंकले चाहिनेभन्दा बढी स्टाफ धानिरहेको थियो । मर्जरपछि ठूलो बनेको बैंकमा देवः विकास बैंक समेत गाभिन लागेपछि स्टाफहरुको संख्या अझै बढ्थ्यो । यही विषयलाई ध्यानमा राखी स्टाफ घटाउने उद्देश्यले बैंकले आकर्षक भीएसआर प्याकेजको घोषणा गरेको थियो ।
घोषित प्याकेज रोज्दै राजीव गिरी, उमेशसिंह भण्डारी लगायत २८ कर्मचारीले आवेदन दिएका थिए । उनीहरुको आवेदनलाई चैत ८ गते बैंकले स्वीकृत गरेको थियो ।
गिरी र भण्डारीसहित आकर्षक भिएसआर प्याकेज रोजी बैंक छाड्नेहरुमा कम्पनी सचिव नरेन्द्र छतकुली, बरिष्ठ प्रबन्धक राजेश श्रेष्ठ, डिपोजिट हेड रेना रिजाल, रिटेल हेड विश्व रेग्मी, रिकभरी सन्जिव सैजु, रिसर्च एण्ड डेभलपमेन्ट हेड बिनोदनरसिंह श्रेष्ठ, अपरेशन हेड नमिता शाक्य, कर्पोरेट कम्युनिकेसन हेड सीपा रेग्मी छन् ।
बैंकका एक उच्च अधिकारीका अनुसार बैंकबाट जागिर छाड्नेहरुले २ वर्षको तलब बराबरको एकमुष्ट रकम पाएका छन् । उनीहरुमध्ये असिस्टेन्ट म्यानेजर र त्यसभन्दा माथिका कर्मचारीले बैंकबाट गाडीको सुविधा समेत पाउने गरेका थिए ।
बैंकले ती सबै कर्मचारीले प्रयोग गरिरहेको गाडी समेत घर लैजान दिएको छ ।
यस्तै, भिएसआर रोजेका सबै कर्मचारीले यो वर्षको बोनस समेत पाउनेछन् ।
‘बैंकिङ सेक्टरमै यस्तो प्याकेज कसैले दिएको थिएन ।’ बैंकका ती अधिकारीले भने–‘मर्ज गर्ने समय पनि छ, यसै पनि २० वर्ष पुरानो बैंकमा कर्मचारी अधिक छन् । कसैलाई छाड्न मन छ भने राम्रो अवसर छ भनेर भीएसआर ल्याइएको थियो । त्यही स्किम रोजेर केही साथीहरु बाहिरिनुभएको हो, बैंकभित्र झगडा र विवाद भएर सामूहिक राजीनामा आएको गलत हल्ला फैलाइयो ।’
करिब अढाई वर्ष जति कुमारी बैंकमा कामू सीइओ चलाएका र विगत ३१ वर्षदेखि बैंकिङ क्षेत्रमै रहेर काम गरिरहेका डेपुटी सीइओ राजीव गिरीले पनि आकर्षक भिएसआर प्याकेजकै कारण आफूहरुले यस्तो निर्णय गरेको प्रष्ट्याए । ‘बैंकभित्र कुनै विवाद थियो भन्ने कुरा पूर्ण रुपमा झूठा र कपोकल्पित हो । नेपालको बैंकिङ क्षेत्रकै आकर्षक प्याकेज रोजेर हामी बाहिरिएका हौ ।’ उनले थपे–‘बैंकका सीइओ सुरेन्द्र भण्डारी पनि छुद्र स्वभावको हुनुहुन्न, विवाद हुने भन्ने संभावना नै थिएन नि । उहाँहरुले हालसम्मकै आकर्षक स्किम ल्याउनुभयो, हामीले लियौं, बाहिरियौं ।’
गिरीका अनुसार हालसम्म अन्य बैंकले यस्तो स्किममा १ देखि डेढ वर्षसम्मको तलब सुविधा मात्र दिने गरेका थिए, तर कुमारी बैंकले २ वर्ष तलब बराबरको प्याकेज, बोनस र अन्य सुविधा समेत दिएको छ ।
उनले आगामी दिनमा पनि आफू बैंकिङ उद्योगमै रहनसक्ने संभावना व्यक्त गरे । ‘तर पनि म सबै क्षेत्रका लागि ओपन छु । कुनै त्यस्तो सेक्टर आयो भने त्यो पनि लिन सक्छु ।’ उनले भने । गिरीले २५ वर्ष स्ट्याण्डर्ड चार्टर्ड र ६ वर्ष कुमारी बैंकमा काम गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago