काठमाण्डौ । राष्ट्र, रािष्ट्रयता तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले विर्तामोडस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्मचारी नियन्त्रणमा आफ्ना केटाहरुको संलग्नता रहेको स्वीकार गरेका छन् । 

उनले घटनालाई अतिरञ्जित गरी अपहरण भनिए पनि लामो समयदेखि लोन अड्काएको विषयमा छलफल गर्नका लागि एक समूह गएर बैंक कर्मचारीलाई प्रहरी कार्यालय लगेको दाबी समेत गरेका छन् । 

'मेरै निर्देशनमा केटाहरुले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका एक कर्मचारीलाई इलाका प्रहरी कार्यालय विर्तामोड लिएर गएका हुन् ।' प्रसाईंले बिजशालासँग भने-'अपहरण भन्दै हल्ला फैलाइएको छ । यो हाम्रो अभियानविरुद्धको षड्यन्त्र हो ।' 

उनले तत्कालीन मेगा बैंक हुँदै देवी संग्रौलाका लागि अप्रभू भएको लोन दिन हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आनाकानी गरेको र संग्रौलालाई पटक पटक दुःख दिएर आत्महत्या गर्ने अवस्थामा पुर्याएको भन्दै सो समस्या समाधानका लागि केही आक्रामक हुनुपरेको प्रष्ट पारेका छन् ।

'त्यो भाईले आज पनि म आत्महत्या गर्छु भनेर फेसबुकमा लेखेको छ । मैले एउटा गरिखाने मान्छेलाई मर्न नदिनका लागि समस्याको समाधान खोज्नका लागि प्रहरीलाई पनि अनुरोध गरेको छु ।' प्रसाईले भने-'लोन अप्रभू गर्ने बेलामा समेत क्लाइन्टबाट घूस लिने, अनि अप्रभू भइसकेको लोन निश्कासनमा अनेक बखेडा झिकेर मानिसलाई समस्यामा पार्ने काम बैंकले गर्नुभएन ।' 

उनले आफूले पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाटै ठूलो लोन लिएको र आफ्नो बैंकका सीइओ ज्योति पाण्डेसँग सौहाद्रपूर्ण सम्बन्ध रहेको समेत बताए । 'मेरो साथीजस्तो मान्छे नै सीईओ हुनुहुन्छ । उहाँका बैंक कर्मचारीले शाखामा के कस्तो फट्याईं गरेका छन्, उहाँले पनि बुझ्नुपर्छ ।' उनले भने-'बैंकले पहिला लोन स्वीकृत गरेर कृषि फर्म खोल भन्यो । लोनकै आडमा संग्रौला भाईले ऋणमा धमाधम काम गरे । काम अगाडि बढाउने बेलैमा अनेक बाहाना गरेर लोन अड्काइदिनु त भएन नि । मानिसलाई अनावश्यक रुपमा समस्यामा पारिदिनु त भएन नि ।' 

उनले कृषि लोन ५ प्रतिशत ब्याजदर(सहुलियत दर)मा पाइने भनेर सरकारले भने पनि संग्रौलाले भने १३ प्रतिशत तिर्नुपरेको गुनासो पनि गरे । पूरा लोन नदिएको र ब्याज मात्र खान थालेपछि बाध्य भएर यस्तो कदम उठाउनु परेको उनको प्रष्टोक्ति छ । 

'दशैंअघि पनि यही केशमा त्यो भाई नांगै बैंकमा गएको रहेछ । बैंकमा गएर पेटोल छर्किएर आत्मदह गर्ने योजना बनाएको थाहा पाएर उसलाई मर्नबाट मैले नै रोकेको हुँ ।' प्रसाईले भने-'अहिले अन्यायमा परेको एउटा केटोलाई सहयोग गरेको हुँ ।' 

दशैंलगत्तै बैंकका कर्मचारीसँग छलफल गरेर यो लफडा मिलाउने कोशिश गरिएको समेत उनले दाबी गरे । 'बैंकले ८ लाख ब्याज बुझाउनुपर्नेछ, त्यो बुझाउनुस् अनि बाँकी रहेको १ करोड रिलिज गरिदिन्छु भनेको थियो । बिचरा त्यो भाईसँग त्यति पैसा रहनेछ, म आफैंले बिएनसी हस्पिटलको चेक काटेर ८ लाख तिरिदिएँ । तर, ८ लाख ब्याज पाएको ५ दिनमा रिलिज गर्छौ भनेको पैसा २ महिना बितिसक्दा पनि बैंकले नदिएपछि यस्तो भएको हो ।' 

'बैंकले मानिसलाई मृत्यु रोज्ने गरी समस्यामा पारेको आरोप लगाउँदै अति भएपछि यो घटना मिलाउन आफूले नै त्यो भाई(बैंक कर्मचारी)लाई थाना लिएर जाओ भनेको हुँ ।' उनले भने-'त्यो भाई(पेनरु)ले खाना खाइसकेपछि हाम्रा ८ १० जना केटाहरुले गाडीमा राखेर थाना पुर्याएका हुन् ।'