काठमाण्डौ । देव विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अपत्यारिलो गरी नाफा बढाएको छ । 

यो विकास बैंकले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा चालुु आबको सोही अवधिमा खूद नाफा १४९ प्रतिशत बढीले बढाएको हो । 

बैंकले बिहीबार प्रकाशन गरेको वित्तीय विवरणका अनुसार अघिल्लो वर्षको पहिलो ६ महिनामा ५ करोड ६३ लाख नाफा गरेको यो बैंकले चालु आबको सोही अवधिमा १४ करोड ३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । 

यो विकास बैंकको खूद ब्याज आम्दानी तर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष १५ करोड ३६ लाखमा सीमित खूद ब्याज आम्दानी यो वर्ष बढेर २६ करोड २ लाखको उचाईमा पुुगेको हो । 

यो अवधिमा बैंकले ९ अर्ब ७ करोड निक्षेप संकलन गरी ८ अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६ अर्ब ८० करोड निक्षेप संकलन गरी ५ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको थियो । 

देव विकास बैंकले खराब कर्जाको दरलाई पनि चमात्कारिक ढंगले घटाएको छ । अघिल्लो वर्षको पहिलो ६ महिना ४.७९ प्रतिशत रहेको खराब कर्जा अनुपात यो वर्षको सोही अवधिमा घटेर १.७० प्रतिशतमा झरेको हो । 

देव विकास बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ९५ पैसा, प्रतिसेयर नेटवर्थ १४२.६२ र मूल्य आम्दानी अनुपात ७.३७ गुणा कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा प्रति सेयर आम्दानी १३.७८ रुपैयाँ मात्र थियो । 

यो विकास बैंकसँग १ अर्बको चुक्तापूँजी रहेको छ भने जगेडा कोषमा ४२ करोड ८० लाख रुपैयाँ पुुगेको छ ।