काठमाण्डौ । वैकल्पिक उर्जा क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो व्यापारिक आयोजनामा बैंक अफ काठमाण्डू(बीओके) लिमीटेडको अगुवाईमा तीन वाणिज्य बैंकले ऋण लगानी गर्ने भएका छन् । 

सो आयोजना निर्माणका लागि रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले बैंक अफ काठमाण्डू लिमीटेडको अगुवाईमा सिटीजन बैंक इन्टरनेशनल लिमीटेड तथा नेपाल बंगलादेश बैंक लिमिटेडसँग सह–वित्तियकरण सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

बुटवल तिलोत्तमा नगरपालिका वडा नं. ७ मा रु. ६५.४६ करोड लगानीमा २६ विगाहा क्षेत्रफलमा ३२,००० सोलार प्यानल भएको ८.५ मेगावाटको सौर्य फर्मबाट ३३ केभी प्रसारण लाइनमार्फत १,४५,१०,५८४ किलोवाट युनिट विद्युत उत्पादन हुनेछ ।

यस आयोजनाबाट उत्पादन हुने विद्युत ब्याट्रीमा स्टोरेज नभई उत्पादनकै समयमा सिधै राष्ट्रिय ग्रीडमा समाहित हुने बताइएको छ ।

सन् २००१ मा बैंक अफ काठमाण्डू र अरुण भ्याली हाइड्रो कम्पनीको सम्झौताअनुसार नेपालकै पहिलो निजी क्षेत्रको लगानीमा संखुवासभाको पिलुवाखोलामा ३ मेघावाटको हाईड्रोपावरको निर्माण गरिएको थियो ।