काठमाण्डौ । आर्थिक वर्षको दोश्रो त्रैमासमा एभरेष्ट बैंकले पहिलोपटक एकअर्ब भन्दा बढी खूद नाफा आर्जन गरेको छ । 

यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ अर्ब १४ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ९७ करोड १५ लाखमा सीमित थियो ।

एभरेष्ट बैंकका अन्य मुख्य सूचकहरु समेत सन्तोषजनक नै देखिएका छन् । जस्तो, रिजर्ब कोष, खूद ब्याज आम्दानी, निक्षेप तथा कर्जा परिचालन, खराब कर्जा न्यूनिकरण, संचालन नाफा लगायतका सूचकहरुमा बैंकले प्रगति गरेको छ । 

समीक्षा अवधिमा बैंकले संचालन नाफा १ अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ४८ करोडमा सीमित थियो । 

यस्तै, व्यवसायमा बिस्तार गरेका कारण खूद ब्याज आम्दानी १ अर्ब ७६ करोडबाट बढेर २ अर्ब ९ करोडको उचाईमा पुगेको छ । ४ अर्ब ८९ करोड रुपैयाँ रहेको रिजर्ब कोषको आकार बढी ५ अर्ब १९ करोड पुगेको छ भने ०.७ प्रतिशतमा रहेको खराब कर्जालाई  बैंकले घटाएर ०.२५ प्रतिशतको न्यून विन्दूमा झारेको छ । 

यो अवधिमा बैंकले १ खर्ब ३ अर्ब २९ करोड निक्षेप संकलन गरी ८४ अर्ब ७३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ९० अर्ब ४३ करोड निक्षेप संकलन गरी ७२ अर्ब ६१ करोड कर्जा प्रवाह गरेको थियो । 

गत वर्ष यही अवधिमा ४ अर्ब ६० करोड रहेको चूक्तापूँजी बढेर ८ अर्ब २ करोडको उचाईमा पुगे पनि पूँजी अनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी भने खस्किएको छ । अघिल्लो वर्षको यही अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी ४२.१८ रुपैयाँ रहेकोमा घटेर यो वर्ष २८.४१ रुपैयाँ कायम भएको हो । 

समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ १६४.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.९३ गुणा कायम भएको छ ।