काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नाफामा अन्य वाणिज्य बैंकलाई उछिनेको छ । 

यो बैंकले समीक्षा अवधिमा सबैभन्दा बढी २ अर्ब १७ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । 

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको फ्री प्रफिट २२.१० प्रतिशतले बढी हो । 

खूद नाफातर्फ पनि बैंकले सबैलाई टपेको छ । समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खूद नाफा २ अर्ब ४० करोडको उचाईमा पुगेको हो । अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफातर्फ बैंकले ३५.०९ प्रतिशतले फड्को मारेको देखिएको छ । 

बैंकको संचालन मुनाफा समेत २ अर्ब २५ करोडबाट बढेर ३ अर्ब ४३ करोडको उचाईमा पुगेको छ । यसको अर्थ संचालन मुनाफातर्फ बैंकले ५२.४१ प्रतिशतको छलाङ मारेको छ ।

बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण समीक्षा अवधिमा ७ अर्ब २३ करोड ब्याजबाट मात्र आम्दानी गरेको छ । निकै न्यून ३.०१ प्रतिशत कस्ट अफ फण्ड रहेका कारण ब्याज खर्च २ अर्ब २८ करोड मात्र भएको देखिन्छ। 

समीक्षा अवधिमा बैंकले १ खर्ब ८१ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा निक्षेप २१.७९ प्रतिशतले बढाएको बैंकले कर्जा भने २१.८९ प्रतिशतले बढाएको छ । बैंकको निक्षेप र कर्जातर्फको बिस्तार अनियन्त्रित नदेखिनुलाई राम्रो पक्ष मान्न सकिन्छ ।

बैंकले आफ्नो रिजर्बकोषमा २३८.३१ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्षको यही अवधिमा कोषमा ३ अर्ब ६७ करोड रहेकोमा त्यो बढेर यो वर्ष १२ अर्ब ४४ करोड पुगेको छ । 

अघिल्लो वर्षको तुलनामा बैंकको सेयरमा प्रतिफल(रिटर्न अन इक्वीटी) पनि बढेको छ । अघिल्लो वर्ष ११.४२ प्रतिशत रहेको यस्तो प्रतिफल बढेर यो वर्ष ११.७३ प्रतिशतको उचाई चुमेको हो ।

खराब कर्जा भने ३.११ प्रतिशतबाट केही बढी ३.४० प्रतिशत पुगेको छ । 

पुस मसान्तसम्म अन्य बैंकहरु निकै टाइट सीसीडी रेसियोबाट गुज्रिरहँदा राष्टिय वाणिज्य बैंकको अवस्था भने निकै सुविधाजनक देखिएको छ । यो बैंकको यस्तो अनुपात ६९.२४ प्रतिशत मात्र छ । 

समीक्षा अवधिमा ५.६० प्रतिशतको निकै न्यून बेस रेट कायम गर्न सकेको यो बैंकको प्रतिसेयर आम्दानीमा पनि आकर्षक बढोत्तरी भएको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.७० प्रतिशतले इपीएस बढाउँदै  ५३ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।

अधिकांश सूचकमा टप बन्यो बैंक
यो बैंकसहित हालसम्म २० वटा वाणिज्य बैंकहरुले दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण एनएफआरएस विधि अनुसार प्रकाशित गरेका छन् । 
अधिकांश सूचकमा यो बैंकले अन्य वाणिज्य बैंकलाई टपेको छ । 

खूद नाफा, वितरणयोग्य मुनाफा, संचालन नाफातर्फ बैंक पहिलो नम्बर छ । निक्षेप र कर्जा परिचालनतर्फ समेत बैंकको पहिलो नम्बर नै छ ।

निक्षेपतर्फ एनआइसी एशियालाई समेत यो बैंकले टपेर पहिलो स्थान बनाएको हो । 

फ्री प्रफिटमा नवील बैंक दोश्रो र इन्भेष्टमेन्ट बैंक तेश्रो स्थानमा पुगेका छन् । खूद र संचालन मुनाफामा समेत यस्तै अवस्था छ ।

न्यून कस्ट अफ फण्ड कायम गर्ने र न्यून बेसरेट कायम गर्ने मामलामा समेत बैंक सबैभन्दा अगाडि देखिएको छ । 

रिजर्बकोषको वृद्धि अनुपातमा पहिलो नम्बरमा रहेको यो बैंक प्रतिसेयर आम्दानीमा नवील बैंक भन्दा पछाडि छ ।

बैंकका सीइओ किरणकुमार श्रेष्ठले चालु आर्थिक वर्षको सुरुवातमै राष्ट्रिय वाणिज्य बैंकलाई प्रत्येक त्रैमासमा सबैभन्दा अगाडि बनाउने घोषणा गरेका थिए । उनको घोषणा अनुसार नै यो बैंक पहिलो र दोश्रो त्रैमासमै सबैभन्दा अगाडि देखिएको हो ।