काठमाण्डौ । एनआइसी एशिया बैंकले विगत केही दिनदेखि दोश्रो बजारमा मिराकल गरिरहेको छ । 

यो बैंकको सेयर मूल्य लगातार बढिरहेको हो। आइतबार आठौं दिन समेत एनआइसी एशियाको मूल्यमा बढोत्तरी भइरहेको छ । 

मार्केट डेप्थमा हेर्दा सोमबार समेत बैंकको सेयरमा उच्च खरीद चाप छ । कारोबार सुरु भएको पहिलो एकघण्टामै एनआइसीको सेयर मूल्य २ प्रतिशतको हाराहारीमा बढिसकेको छ । 

पहिलो एकघण्टाको अवधिमा एनआइसी एशियाका ६१ हजार बढी कित्ताका लागि खरीद अर्डर पोस्ट भएको छ, जबकि बिक्री आदेशतर्फ भने  १४ हजार ४४६ कित्ता मात्र पोस्ट भएको देखिन्छ । 

प्रतिकित्ता ४७६ रुपैयाँसम्म खरीद गर्ने चाहनासहित १ हजार ६५५ कित्ताको अर्डर पोस्ट भएको देखिन्छ । सबैभन्दा बढी ४७५ रुपैयाँको दरले ५ हजार ६८० कित्ता खरीद आदेश पोस्ट भएको छ । 

बिक्री आदेशमा सबैभन्दा कम मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ छ । बिक्री गर्न चाहनेले अधिकतम ४८२ रुपैयाँसम्मको अफर दिएका छन् । 

खरीद अर्डरमा उच्च चाप र बिक्रीमा न्यून चाप देखिनुले बैंकको सेयर किन्नेहरुको संख्या धेरै नै रहेको देखिन्छ । 

नेपालका बैंकिङ क्षेत्रका सेलिब्रेटी बैंकर अनिलकेशरी शाहले आफू सीइओ रहेको नवील बैंकको अबको प्रतिस्पर्धी एनआइसी एशिया बैंक रहेको भनी बिजशालालाई दिएको अभिव्यक्तिपछि एनआइसी एशियामा एकाएक आकर्षण बढेको देखिन्छ । 

लगानीकर्ताहरु एनआइसी एशियाको सेयर मूल्य पनि नवीलकै हाराहारीमा पुग्ने अनुमानसहित धमाधम सेयर उठाइरहेका छन् । एनआइसी एशियाको बढ्दो प्रगतिका कारण सेयर मूल्यमा अझै केही सकारात्मक अवस्था देखिनसक्ने विश्लेषकहरुले बताइरहेका छन् ।

सोमबारकै अवस्था हेर्दा पनि एनआइसी एशियाको सेयर मूल्य नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य नजिक सहजै पुग्ने अवस्था देखिएको छ । बढोत्तरीको यो क्रम जारी रहने हो भने नवीलको हाराहारीमा एनआइसीको मूल्य नपुग्ला भन्न सकिन्न । 

एनआइसी एशियाले चैत १४ गतेपछि भने राम्रो प्रदर्शन गरिरहेको छ । सो दिन दोश्रो बजारमा ३९८ रुपैयाँ प्रतिकित्ता रहेको मूल्य बढेर सोमबार पहिलो एकघण्टामा ४७५ माथि पुगिसकेको छ । 

गत बिहीबार ४४२ रुपैयाँ पुगेको थियो । यसरी हेर्दा ८ कारोबार दिनको अन्तरालमा एनआइसी एशियाको सेयर मूल्य १९ प्रतिशत भन्दा बढीको हाराहारीमा बढिसकेको छ । 

नवील र इन्भेष्टमेन्टको के छ अवस्था ?


एनआइसी एशियाको प्रतिस्पर्धी बैंक भनिएको नवील र नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य पनि बढिरहेको छ । नवीलको सेयर मूल्य सोमबार पहिलो एकघण्टामा प्रतिकित्तामा ४ रुपैयाँले बढेर ७३६ पुगेको छ भने इन्भेष्टमेन्ट बैंकको मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर ५५८ रुपैयाँको उचाईमा पुगिसकेको छ ।