काठमाण्डौ  । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ११.०४ अंकले ओरालो लागेको छ ।

योसँगै नेप्से परिसूचक १ हजार ९५६.९२ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले ओरालो लागेर ३७३.३७ को विन्दुमा पुगेको छ।  आज नेप्से उपसमूहमा रहेका १३ वटा समूह मध्ये म्युचुअल फण्ड समूह बाहेक अरु सवैमा रातो पोतिएको छ । 

आज नेप्से सूचीकृतमध्ये २८० कम्पनीका ३५ लाख ६२ हजार ६२४ कित्ता सेयर १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँमा खरिदबिक्री भएका छन् ।  

आजको शेयर बजारमा भएको कारोबार बारे साइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक बिरेन्द्र विष्ट भन्छन्, लगानीकर्ताले नेपाल राष्ट्र बैंकको नीति कुर्दा खेरी बजारमा करेक्सन आएको हो । त्यसकारणले आज कारोबार पनि बढ्न सकेन ।गभर्नर छिट्नै बाहिर जाने बिषय पनि छ, त्यसैले शुक्रबारसम्म नीतिमा केहि फेरबदल हुने सम्भाबना छ किन कि गभर्नरलाई सवैतर्फबाट चौतर्फी दबाब परेको छ ।त्यसैले शुक्रबारसम्ममा नीतिमा केहि परिवर्तन आउन सक्दछ ।त्यसो भयो भने बजार एक /दुई सय अंक माथि जान सक्छ ।
यदि नीतिमा परिवर्तन भएन भने अन्यथा बजारले ५० /६० अंक गुमाउन सक्ने पनि सम्भावना रहेको उनले बताए । 

अर्का बजार जानकार निमानन्द कडेंल चाहिं लगानीकर्ता राष्ट्र बैंककै नीति कुरेर बसेको बताउँछन् । उनी भन्छन्, बजारमा अन्यौलता रहेकै कारण नै आज नेप्से बढ्न नसकेको हो । राष्ट्र बैंकको नीति शुक्रबारसम्म आउने सुनिन्छ र लगानीकर्ता मैत्री नीति आएको खण्डमा बजार १५० अंक माथिसम्म जान सक्ने देखिन्छ । यदि त्यसो भएन भने बजार साइडवेजमै चल्ने देखिन्छ ।

यो दिन म्युचुअल फण्ड समूह ०.२४ प्रतिशतले बृद्धि भएको छ भने बाँकी सबै समूहमा रातो पोतिएको छ । जसअनुसार यो दिन होटल एण्ड पर्यटन समूह  सर्वाधिक १.१७ प्रतिशतले घटेको छ ।

त्यस्तै  बैकिंग समूहमा ०.४० प्रतिशत, विकास बैंक समूहमा  ०.७५ प्रतिशत, वित्त समूह ०.५१ प्रतिशत, लगानी समूहमा ०.४७ प्रतिशत, जीवन बीमा समूहमा ०.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९३ प्रतिशत, लघुवित्त समूहमा ०.४८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५० प्रतिशत, अन्य समूहमा ०.३५ प्रतिशत र व्यापार समूहमा ०.१४ प्रतिशत र जलविद्युत समूहमा ०.८४ प्रतिशत र उत्पादन तथा प्रोसेसिंगमा ०.९३ प्रतिशतले आरोलो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु 

यो दिन सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक ४ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।  यसैगरी नबिल बैंकको ३ करोड १८ लाखभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने

आज बाराही हाइड्रोपावरको सेयरमूल्य ९.३० प्रतिशतले बढेको छ । यो दिन उक्त कम्पनीका सेयरधनीहरु मालमाल भएका छन् ।  यसैगरी इष्टर्न हाइड्रोपावरको सेयरमूल्य पनि ८.२६ प्रतिशतले बढेको छ ।

त्यस्तै हिमालयन लघुवित्तको सेयर मूल्य ७.९१ प्रतिशतले बढेको छ । यो दिन इन्फिनिटी लघुवित्तका  सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा ९.९४ प्रतिशतले गिरावट आएको छ । यसैगरी यो दिन मध्यभोटेकोशीको सेयरभाउ ६.४६ प्रतिशतले तल झरेको छ ।