काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयर बजार १७.९३ अंकले घटेको छ ।

यो दिन बजार घटेर १ हजार ८७६.६० को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.९६ अंकले घटेर ३५८.८९ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारको विषयवस्तु बारे बजार जानकार गोबिन्द प्रसाद घिमिरे भन्छन, ‘आज एक बहुराष्ट्रिय कम्पनी बाहिरिने खबरले पनि बजारलाई प्रभाव पारेको छ । यसले देशमा लगानीको वातावरण छैन भन्ने देखाएको छ।  यसको अलावा केहि दिन पहिले बढेको बजारमा आज  नाफा बुक पनि भएको छ ।’ लगानीकर्ताहरुले म्रोद्रिक  नीतिको समीक्षा पर्खदा पनि बजार बढ्न नसकेको उनको तर्क छ ।

उनको विचारमा हालको राष्ट्र बैंकको नीतिमा केहि फेरबदल नभएसम्म बजार केही समय साइडवज नै चल्न सक्छ । अर्का बजार जाननकार अर्जुन थापाको बिचारमा लगानीकर्ता अहिले नै थप कर्जा लिएर सेयर किन्न तयार नहुँदा बजार बढ्न नसकेको हो ।

किनकि ब्याजदर घट्दो क्रममा छ । लगानीकर्ताले चाहे अनुसार  कम्पनीहरुले घोषणा नगर्दा पनि बजार माथि उठ्न  नसकेको उनको उनको तर्क छ । अहिले लगानीकर्ता निरास छन् तर पनि बजार १ हजार ८०० भन्दा तल नजाने उनको तर्क छ ।

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूह मध्ये अन्य समूह बाहेक अरु सबै समूह राताम्मे भएको छ । यो दिन सबैभन्दा बढी अन्य समूह ०.१६ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह २.१३ प्रतिशतले घटेको छ  ।

यसैगरी, यो दिन दोस्रोमा निर्जीवन बीमा कम्पनी १.५३ प्रतिशतले घटेको छ । यसका साथै जीवन बीमा समूह १.५२ प्रतिशतले घटेको  छ। 
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको सर्वाधिक ८ करोड २८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरी, दोस्रोमा एनआईसी एशियाको ऋणपत्रको५६ करोडभन्दा बढीको इकाईको कारोबार भएको छ । त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्सको ३ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन विजय लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरभाउ ९.८८ प्रतिशतले बृद्धि भएको छ । यसैगरी, यो दिन कुमारी धन बृद्धि योजनाका सेयरभाउ ३.६३ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै, सिटिजन्स म्युचुअल फण्डको इकाइको मूल्य पनि ३.५५ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै, यो दिन बुद्धभूमि हाइड्रोपावरको सेयरभाउमा नकारात्मक सर्किट लागेको छ ।

यसैगरी, अभियान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.०३ प्रतिशतले ओरालो लागेको छ ।