काठमाण्डौ । साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार ३०.०५ अंकले घटेर २ हजार ३०.१० को विन्दुमा बन्द भएको छ ।
 

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.५४ अंकले घटेर ३८०.५३ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये ३०५ वटा कम्पनीका १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर ४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारको विषयमा बजार जानकार सरोज भट्टराईले बजार घटिहाल्नु पर्ने खास कारण नभएको बताएका छन् ।

उनी भन्छन्, ‘बजार आज ३० अंकले घटेको छ ।अर्थतन्त्र सुधारोन्मुख नै छ । पुस महिनामा सेयरबजारमा लगानी गर्नेहरुले बैंकमा किस्ता वा ब्याज तिनुपर्ने भएकोले बजार घटेको हुनसक्छ । तर कम्पनीहरुको दोस्रो र तेस्रो त्रैमासिक वित्तीय विवरण आएपछि बजारले लय समात्न सक्छ । बजार घटेपनि केहि कम्पनीको सेयरभाउ बढेका छन् । लगानीकर्ताहरुले आफुले कुन कम्पनीमा लगानी गर्ने र कतिसम्म होल्ड गर्ने त्यसमा ध्यान दिनुपर्छ ।’

अर्का बजार जानकार महेश रिजाल भन्छन्, ‘आज बजार घट्नुको मुख्य कारण सिटिजन लाइफ इन्स्योरेन्सको बोनस घोषणा हुन सक्छ । प्रिमियमा आईपीओ जारी गरेका चार जीवन बीमा कम्पनीले २५ प्रतिशतसम्म बोनस दिन सक्ने आशामा बसेका लगानीकर्ताहरु निराश बन्दा मार्केट घटेको हुन सक्छ । पुस महिनामा लगानीकर्ताहरुले बैंकको किस्ता, ब्याज वा कर तिनुपर्ने भएकाले गर्दा पनि मार्केट घट्न पुगेको हो । सम्भबतः आगामी सातादेखि बजारले आफ्नो लय समात्छ ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमै रातो पोतिएको छ । 
यो दिन सबैभन्दा बढी होटल्स तथा टुरिजम समूह घटेको छ । यो समूह ३.२१ प्रतिशतले घटेको छ ।

यसैगरी, दोस्रोमा जीवन बीमा समूह २.९९प्रतिशतले घटेको छ ।त्यस्तै, निर्जीवन बीमा कम्पनी भने २.७६ प्रतिशतले घटेको छ ।

यस्तै विकास बैंक तथा वित्त समूह समान १.३५ प्रतिशतले घटेको छ । त्यसैगरी हाइड्रोपावर समूह १.३३ प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । कम्पनीको १६ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । यसैगरी, दोस्रोमा हाथवे इन्भेष्टमेन्ट नेपालको १५ करोड ३८लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको  छ।

त्यसैगरी, सिटिजन लाइफ इन्स्योरेन्सको  १४ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसैगरी, सोनापुर आयल एन्ड मिनरल्सकोे १२ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन चार ओटा अलग अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन चिरख्वा हाइड्रोपावर,मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी, यो दिन हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७.१८ प्रतिशतले घटेको छ ।

दोर्दी खोला हाइड्रोपावरको सेयरमूल्य ६.५६ प्रतिशतले घटेको छ ।