काठमाण्डौ । खोला बगरको जग्गा धितो राखेर लाखौं रुपैयाँ ऋण प्रवाहको मुद्धामा दोषी ठहर भई पुर्पक्षमा रहेका बैंकर अजय श्रेष्ठ धरौटीमा रिहा भएका छन् । 

उनीसँगै अर्का बैंकर किरणकुमार बोहोरालाई समेत धरौटिमा रिहा गर्न सर्वोच्च अदालतले आइतबार आदेश दिएको छ । 

दुवैलाई जनही १ करोड रुपैयाँ धरौटी लिएर रिहा गरिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । 

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले श्रेष्ठ र बोहोरालाई धरौटिमा रिहा गर्ने फैसला गरेको हो । 

खोला बगरको जग्गा धितो राखेर माग भएको कर्जा स्वीकृत गरेको अभियोगमा श्रेष्ठलाई असोज ५ गते प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्धमा परेको मुद्धामा उच्च अदालत पाटनले थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । 

उच्च अदालतको सो आदेशविरुद्ध श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि फैसला गर्दै सर्वोच्चले धरौटिमा रिहा गर्न आदेश दिएको हो ।

अजय श्रेष्ठ बैंक अफ काठमाण्डूको सीइओ भएको बेला एक गिरोहले झापाको बिरिङ खोला बगरको नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई तथा अन्य कागजात समेत किर्ते गरी ५ करोड बढी ऋण लिन सफल भएको थियो । सुरेन्द्र श्रेष्ठ लगायतको गिरोहले गरेको यो कामको विषयमा पछिबाट मात्रै बैंकले थाहा पाएको थियो । यही ठगीको घटनाको खोजबिनको क्रममा तत्कालीन सीइओ समेत तानिएका हुन्।

अजय श्रेष्ठ बैंकिङ कसूरमा पक्राउ परेसँगै यसले बैंकिङ उद्योगमै तरंग पैदा गरिदिएको थियो । 

नेपाल बैंकर्स संघले समेत बैंकर श्रेष्ठको रिहाईका लागि पहल गरिरहेको थियो ।