काठमाण्डौ । आस्वा सेवा निःशुल्क दिने सूचना प्रकाशित गरेको सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडलाई नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ । 

आइतबार यो बैंकले आस्वा प्रणालीको काम गर्दा तोकिएको शुल्क नलिने भन्दै सूचना प्रकाशित गरेको थियो । 

यो सूचनाका कारण आस्वा सेवा दिने बैंक तथा बित्तीय संस्थाहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्ने र यसले गुणस्तरीय सेवामा ध्यान नपुुग्ने भन्दै धितोपत्र बोर्डले नियमावलीले नै तोकेको शुल्क लिन्न भन्न नपाइने र यो सेवा पूर्ण निःशुल्क गर्न नपाइने भन्दै स्पष्टीकरण सोधेको हो । 

‘हामीले बैंकलाई निःशुल्क गर्ने निर्णय तत्काल फिर्ता लिन भनिसकेका छौ ।’ नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बैंकको नाम नलिई आइतबार साँझ एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भनेका थिए–‘बैंकहरुले गुुणस्तरीय आस्वा सेवा पनि नदिने, दक्ष कर्मचारी पनि नराख्ने अनि नियमावली पनि नमान्ने भन्ने पनि हुुन्छ ?’

उनले शुल्क तोकेपछि त्यसबाट बैंकहरुलाई आम्दानी हुने र सोही आम्दानीबाट दक्ष कर्मचारी राखी आस्वा सेवा गुणस्तरीय बन्ने तर्क गरे । ‘अहिले आस्वा प्रणालीको बिषयमा जानकारी नै नभएका अदक्ष कर्मचारीलाई राखेर बैंकहरुले लगानीकर्तालाई दुःख दिने काम गरिरहेका छन् ।’ उनले भने–‘बरु थोरै शुल्क लेऊ, तर कम्तीमा गुणस्तरीय सेवा चाहि देउ भन्ने हाम्रो आग्रह हो ।’