काठमाण्डौ । नेपाल राष्ट्रबैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बित्तीय संस्थाको रुपमा संचालित राष्ट्रिय स्तरको विकास बैंक बन्नलाई ०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने नीतिका कारण यो क्षेत्रमा समेत हकप्रदको बाढी आएको छ । पूँजीवृद्धिको विकल्पको रुपमा एकजिल्ले, तीनजिल्ले र १० जिल्ले विकास बैंक ठूला वाणिज्य बैंक वा ठूला विकास बैंकसँग मर्जरका लागि ‘हटकेक’ बनिरहेका छन् । मर्जर वा एक्वीजिसनमा जान नसकेका विकास बैंकहरुले पूँजी वृद्धिको रफ्तारलाई रोकेका छैनन् । यहीकारण हकप्रदसँगै विकास बैंकहरुले आफ्ना लगानीकर्तालाई लाभांश समेत धमाधम घोषणा गरिरहेका छन् । 

आर्थिक वर्ष २०७२/७३ को नाफाबाट हालसम्म लाभांश घोषणा गरेका विकास बैंकलाई हेर्ने हो भने राष्ट्रिय स्तरका २ वटा बाहेक अरु अगाडि आउन सकेका छैनन् । बरु लाभांश घोषणामा एक जिल्ले र तीन जिल्ले विकास बैंक निकै अगाडि देखिएका छन् । यीमध्ये पनि १० मध्ये अधिकांश तीन जिल्ले विकास बैंक रहेका छन् । 

को अघि को पछि ?
आर्थिक वर्ष २०७२/७३ को नाफाबाट हालसम्म आफ्ना सेयरधनीलाई १०
विकास बैंकहरुले लाभांश घोषणा गरेका छन् । कर प्रयोजन बाहेक कुनै पनि विकास बैंकले नगद लाभांश घोषणा गरेका छैनन् । 

१० विकास बैंकमध्ये हालसम्म सबैभन्दा बढी धरान मुख्य कार्यालय रहेको तीन  जिल्ले मितेरी विकास बैंकले लाभांश घोषणा गरेको छ । यो बैंकले ३० प्रतिशत सेयर र १.५८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । अघिल्लो वर्ष पनि यो बैंकले यही हाराहारीमा लाभांश वितरण गरेको थियो । 

अर्को तीनजिल्ले विकास बैंक तिनाउ डेभलपमेन्ट बैंकले २५ प्रतिशत सेयर र १.३१ प्रतिशत नगद लाभांश घोषणा गरी हालसम्म लाभांश घोषणा  गर्ने विकास बैंकको सूचिमा दोश्रो नम्बरमा उभिएको छ । यो बैंकले अघिल्लो वर्ष १८.९४ प्रतिशत लाभांश वितरण गरेको थियो । 

एकजिल्ले बैंक हाम्रो विकास बैंक लिमीटेडले २५ प्रतिशत सेयर लाभांश घोषणा गरेको छ । यो बैंकले अघिल्लो वर्ष १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । 

आफूलाई देशको सबैभन्दा ठूलो विकास बैंक भनेर दाबी गर्ने र आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा धेरै नाफा कमाएको कैलाश विकास बैंकले लगानीकर्तालाई २४ प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको छ । अघिल्लो वर्ष पनि यो बैंकले २४ प्रतिशत नै लाभांश वितरण गरेको थियो । 

अर्को तीन जिल्ले विकास बैंक सहयोगी विकास बैंकले २२ प्रतिशत सेयर र १.१६ प्रतिशत नगदसहित कुल २३.१६ प्रतिशत लाभांश घोषणा गरेको छ । अघिल्लो वर्ष २९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो । 

अघिल्लो वर्ष १०.५३ प्रतिशत लाभांश वितरण गरेको राष्ट्रिय स्तरको त्रिवेणी विकास बैंकले यो वर्ष १९ प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको छ भने तीन जिल्ले सिन्धु विकास बैंकले १७.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । सिन्धुले अघिल्लो वर्ष लगानीकर्तालाई १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । 

अघिल्लो वर्ष १५.७९ प्रतिशत लाभांश दिएको एक जिल्ले बागमति डेभलपमेन्ट बैंकले यो वर्ष लगानीकर्तालाई १४.७४ प्रतिशत लाभांश घोषणा गरेको छ । यो बैंक एक्वायरमा गइसकेको छ । 

अघिल्लो वर्ष कुनै लाभांश वितरण गर्न नसकेको तीन जिल्ले बैंक सप्तकोसी डेभलपमेन्ट बैंक लिमीटेडले यो वर्ष लगानीकर्तालाई ११ प्रतिशत बोनस सेयर  वितरणको घोषणा गरेको छ । 

उता, दश जिल्ले विकास बैंक कन्ट्री डेभलपमेन्ट बैंक लिमीटेडले यो वर्ष पनि अघिल्लो वर्षमा झै लगानीकर्तालाई ७.६३ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

यसरी हेर्दा हालसम्म लाभांश घोषणा गरेका १० विकास बैंकमध्ये मितेरी बैंक अगाडि देखिएको छ । तर, अघिल्लो वर्षको तुलनामा उसले आफ्ना लगानीकर्तालाई धेरै उत्साहित चाहि बनाएन ।

तिनाउ डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको भन्दा लाभांश वितरणमा आफूलाई सुधार गरी लगानीकर्तालाई उत्साहित बनाउने काम गरेको छ भने हाम्रो विकास बैंकले पनि अघिल्लो वर्षको तुलनामा लाभांश घोषणामा १० प्रतिशतको छलांग मारेको छ । 

कैलाश विकास बैंक अघिल्लो वर्ष झै लाभांश स्थिर  रहे पनि उसका लगानीकर्ता निराश चाहि हुन पाएनन् । तर नाफाको तुलनामा यो बैंकले अझ बढी लाभांश वितरणको अपेक्षा लगानीकर्ताको थियो, जुन पूरा हुन सकेन । 

सहयोगी विकास बैंक, बागमति डेभलपमेन्ट बैंक अघिल्लो वर्षको तुलनामा लाभांश वितरणमा केही कमजोर देखिएका छन् भने अरुको अवस्थामा सन्तोषजनक नै  सुधार देखिएको छ । 

हाल देशमा राष्ट्रियस्तरका विकास बैंक २२, दश जिल्ले ८, तीन जिल्ले २२ र एकजिल्ले विकास बैंकको संख्या १० रहेको छ ।