काठमाण्डौ । हुँदै नभएको सवारी साधन देखाएर देवः विकास बैंकका शाखा प्रबन्धक समेतको संलग्नतामा एक गिरोहले २ करोड ७१ लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।
बैंकमा सवारी साधन धितो राखी ऋण लिने क्रममा ब्लु बुकको प्रतिलिपिमा नक्कली डाटा तयार गरी आफू अनुकुल विवरण भर्दै बैंकमा पेश गरी मिलेमतोमा गिरोहले २ करोड ७१ लाख ठगी गर्ने सफलता पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले जनाएको छ ।
गिरोहले बैंकका शाखा प्रबन्धकसहितको मिलेमतोमा विभिन्न व्यक्तिहरुलाई विभिन्न मितिमा ऋणि बनाई १६ वटा कर्जा फाइल तयार गरी २ करोड ७१ लाख ७६ हहजार कर्जा स्वीकृत गर्न सफल भएको अनुसन्धानको क्रममा खुलेको सीआइबीले प्रष्ट पारेको छ ।
प्रहरीका अनुसार सम्पूर्ण कर्जा फाइलमा आम्दानीको स्रोतमा राखिएको सवारी साधनको विवरण लगायतको कागजात समेत नक्कली तयार पारी कर्जा फाइलमा पेश गरेको अनुसन्धानको क्रममा देखिएको छ ।
गिरोहमा को-को थिए ?
नक्कली कागजात तयार गरी हुँदै नभएको सवारी साधन धितोमा राखेर देवः विकास बैंकबाट ऋण लिने योजनाका मुख्य नाइके काभ्रेको सापिंग ४ स्थायी घर भई हाल भुम्लु गाउँपालिका वडानम्बर १ बस्ने ३६ वर्षीय नारायण श्रेष्ठ रहेका प्रहरीको भनाई छ ।
प्रहरीले श्रेष्ठ सहित यो प्रकरणमा संलग्न ८ जनालाई पक्राउ गरी बैंकिंग कसूर तथा सरकारी छाप दस्तखत किर्ते सम्बन्धी मुद्धा दायर गरेको छ ।
श्रेष्ठ नेतृत्वको गिरोहमा काभ्रेको साबिक सापिङ ४, हाल भुम्लु गाउँपालिका बस्ने भुम्लु गाउँपालिकाका वडानम्रब १ का वडा सदस्य ३० वर्षीय बालकृष्ण श्रेष्ठ संलग्न रहेका पाइएको छ ।
यस्तै, काभ्रेको साबिक सापिङ ४, हाल भुम्लु गाउँपालिका १ का ३४ वर्षीय चेतबहादुर श्रेष्ठ, २६ वर्षीय विकास श्रेष्ठ, ३२ वर्षीय नवीन श्रेष्ठ, काभ्रेको चौबास ४ स्थायी ठेगाना भई हाल काठमाण्डौको गोठाटार बस्ने ४२ वर्षका कृष्णबहादुर खत्री, पर्साको वीरगञ्ज घर भई हाल ललितपुरको ज्वागल १० बस्ने मूल्यांकनकर्ता नरेशमानसिंह अमात्य बैंक ठगी प्रकरणमा संलग्न रहेका पाइएको प्रहरीले जनाएको छ । यो प्रकरणमा काठमाण्डौ महानगरपालिका वडानम्बर २३ बस्ने ३७ वर्षका सरिनशंकर श्रेष्ठ समेत सहभागी भएका देखिएको छ । उनी देवः विकास बैंकका तत्कालीन शाखा प्रबन्धक हुन् । घटनामा संलग्न आठै जनालाई प्रहरीले नियन्त्रणमा लिई मुद्धा दायर गरेको हो ।
प्रहरीले मुख्य योजनाकार नारायण श्रेष्ठले गाडी किनबेचमा आबद्ध रही यातायात कार्यालयमा सजिलै प्रवेश पाउने हैसियत बनाएको देखिएको प्रष्ट्याएको छ ।
यस्तै, बैंक म्यानेजरले ऋण प्रवाह गर्दा आफ्नो कर्जा सीमा नाघी कर्जा स्वीकृत गरेको पाइएको समेत प्रहरीको प्रष्टोक्ति छ । यसले यो प्रकरणमा शाखा प्रबन्धक श्रेष्ठ मात्र नभई देवः बैंकको मुख्य कार्यालयका अधिकारीसम्मै नेक्सस छ कि भन्ने संकेत गरेको छ । बैंक म्यानेजरको सीमा भन्दा बढी कर्जा बैंकले केन्द्रीय कार्यालयमा रहेका कुन अधिकारीको सहयोगमा प्रवाह गर्यो भन्ने बिषयमा प्रहरी अनुसन्धान मौन देखिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19