काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाले घोषणा गर्ने नगद लाभांश लिन सम्बद्ध संस्थाहरुमा धाउनुपर्ने सेयरधनीको बाध्यता हटेको छ । 

नेपाल राष्ट्रबैंक बैंक तथा बित्तीय संस्था नियमन विभागले भदौ १ गतेदेखि लागू हुने गरी देशका क, ख र ग वर्गका बैंक तथा बित्तीय संस्थालाई सर्कुलर जारी गर्दै आफ्ना सेयरधनीले पाउने नगद लाभांश उनीहरुको  खातामा बैंकहरुले नै जम्मा गरिदिने व्यवस्था लागू गर्न निर्देशन दिएको हो । 

यो सर्कुलरपछि अब सम्बद्ध संस्थाहरुले घोषणा गरेको नगद लाभांशका लागि ती संस्थासम्म धाउनुपर्ने सेयरधनीहरुको बाध्यता हटेको हो । योसँगै धेरै बैंकको सेयरधनी भएर सम्बन्धित बैंकमा खाता नखोलेकाहरुले समेत ती सबै बैंकमा खाता खोल्नुपर्ने बाध्यता समेत देखिएको छ । 

यसैबीच, बैंक तथा बित्तीय संस्थाहरुबाट हुने सार्वजनिक निश्कासनहरु(जस्तै एफपीओ, आइपीओ)को क्रममा धितोपत्र बाँडफाडपछि लगानीकर्ताले माग गरे बमोजिम सेयर प्राप्त गर्न नसकेको खण्डमा त्यस्तो रकम फिर्ता गर्दा समेत निजले दरखास्त फारममा उल्लेख गरेको खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने व्यवस्था समेत लागू गरिएको छ । यो व्यवस्थाबाट सेयर नपरे पनि त्यसबापत जम्मा गरिएको रकम फिर्ता लिन सम्बन्धित बैंक तथा बित्तीय संस्थामा पुग्नुपर्ने, लामो लाइन बस्नुपर्ने लगानीकर्ताको बाध्यता समेत हटेको छ । 

डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले राष्ट्रबैंकको नयाँ व्यवस्थाले सेयरधनीहरुलाई आफू सम्बद्ध बैंकमा खाता खोल्ने बाध्यता हुनेछ । ‘अहिलेसम्म खाता नहुनेहरुले नगद लाभांश बैंकमै आएर लाइन लागी लिने गर्थे ।’ उनले भने–‘अब भने यो बाध्यता हट्नेछ ।’ 

तर यसका लागि सेयर होल्डर आफैं चनाखो भई खाता खोल्नुपर्नेमा उनको जोड छ । एफपीओ र आइपीओ नपरेको रकम फिर्ता गर्दा सम्बद्ध आवेदकको खातामै जम्मा भइरहेको र खाता नहुनेहरुको हकमा समेत यसले नयाँ बाध्यता सिर्जना गरिदिएको उनको भनाई छ । ‘अब बैंकहरुले आफ्ना सेयरधनीलाई नगद लाभांश बुझ्नका लागि पहिला खाता खोल्नुस् भनेर सूचना जारी गर्ने छन् ।’ उनले भने–‘यसले बैंक खाता प्रयोगबाट  हुने कारोबारलाई भने प्रोत्साहन गर्नेछ ।’