काठमाण्डौ । नबील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले प्रवद्र्धन गरेको दुवै म्युचुअल फण्डको प्रति इकाई मूल्यमावृद्धि भएको छ ।

पाँचवर्षे बन्दमुखी म्युचुअल फण्ड नवील ब्यालेन्स फण्ड–१ ले चैत मसान्तसम्म राम्रो प्रगति गरेको छ ।

फागुन मसान्तको तुलनामा नेट एसेट भ्यालु(खुद सम्पत्ति मुल्य–एनएभी)मा ३ रुपैयाँ ५४ पैसा वृद्धि भई २४ रुपैयाँ ८७ पैसाको उचाई प्राप्त गरेको हो । फागुन मसान्तसम्म यो स्कीमको एनएभी २१ रुपैयाँ ३३  पैसामा सीमित थियो ।

७५ करोड रुपैयाँको कोषबाट सुरु भएको यो स्किमले चैत मसान्तसम्म ९१ करोड २० लाख रुपैयाँ विभिन्न ७२ सुचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । यस्तै, ११ करोड ४४ लाख रुपैयाँ विभिन्न ऋणपत्रहरु, १३ करोड ६८ लाख रुपैयाँ सुचिकृत नभएका कम्पनीको सेयरमा लगानी छ ।

फागुन मसान्तसम्म ३४  करोड ३७ लाख खुद घाटा व्यहोरेको फण्डलाई त्यसलाई घटाएर चैत मसान्तसम्म ७ करोड ७९ लाखमा झारेको छ ।

कुल लगानीमध्ये यो फण्डले ६५ हजार ६० कित्ता सेयर जलविद्युत लगानी तथा विकास कम्पनीको खरीद गरेको छ । यो फण्डको पछिल्लो बिक्री मुल्य २० रुपैयाँ ५० पैसा रहेको छ ।  

यसैगरी, सात वर्षे बन्दमुखी म्युचुअल फण्ड नबील इक्वीटी फण्डको नेट एसेट भ्यालु(एनएभी) समेत वृद्धि भएको छ ।

यो स्किमले बिहीबार सार्वजनिक गरेको मासिक बित्तीय विवरण अनुसार फागुन मसान्तसम्म प्रति इकाई एनएभी ९ रुपैयाँ ७४ पैसा रहेकोमा चैत मसान्तसम्म वृद्धि भई १० रुपैयाँ १९ पैसा कायम भएको छ ।

१ अर्ब २५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले २६ करोड ९० लाख रुपैयाँ सुचिकृत कम्पनीको सेयरमा, १२ करोड ५० लाख रुपैयाँ फिक्स्ड डिपोजिटमा, ४ करोड ४१ लाख रुपैयाँ सुचिकृत नभइसकेका सेयरमा लगानी गरेको छ ।

फागुन अन्तसम्म यो फण्ड ३ करोड २५ लाख रुपैयाँ घाटामा थियो, तर चैत मसान्तसम्म भने २ करोड ३३ लाख नाफामा गएको छ । सुचिकृत कम्पनीका भएको कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी प्राइम कमर्सियल बैंक लिमीटेडको २१ हजार ८ सय ९२ कित्तामा लगानी गरेको छ । यो स्किमको प्रति इकाई पछिल्लो बिक्री मुल्य १० रुपैयाँ १० पैसा कायम भएको छ ।