काठमाण्डौ । नबील बैंक लिमीटेडले लगानीकर्तालाई कमालको लाभांश वितरणको प्रस्ताव गरेको छ । 

यो बैंकले एकैपटक ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

एकैपटक बोनस सेयर र नगद लाभांश पाउने भएपछि लगानीकर्ता समेत खुशीले गदगद छन् । 

बैंकले जारी गरेको विज्ञप्ति अनुसार भदौ २१ गते बसेको बैंकको ४३६ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंक संचालक समितिको यो निर्णय नेपाल राष्टबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुनुपर्छ । यी दुवै निकायबाट स्वीकृति पाएपछि लगानीकर्ताले घोषित सेयर र नगद लाभांश पाउनेछन् । 

नबील बैंकले आर्थिक वर्ष २०७२/७३ मा वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा बढी ४ अर्ब ३५ करोड संचालन मुनाफा गरेको छ । यो बैंक खूद्य नाफा २ अर्ब ८२ करोड रुपैयाँ गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३५ प्रतिशतले बढी हो । नबील बैंक केही समयअघि एक संस्थाबाट वर्षकै सर्वोत्कृष्ट बैंकको रुपमा समेत पुरस्कृत भएको थियो । 

यसअघि आर्थिक वर्ष २०७१/७२ को नाफाबाट नवील बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र ६.८४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब ७५ करोड रुपैयाँ छ । यो वर्षको ३० प्रतिशत बोनस सेयर वितरण र व्यवस्थापनपछि बैंकको चुक्तापूँजी बढेर ६ अर्ब १७ करोड पुग्नेछ । 

मुलुकको पहिलो संयुक्त लगानीको बैंकको रुपमा स्थापित नबिल बैंकले उपभोक्ताको आवश्यकतालाई मध्य नजर गर्दै विविधतायुक्त सेवा सुबिधा प्रदान गर्ने कार्यमा सदैव अग्रणी भूमिका खेल्दै आएको छ । नवीन प्रविधिको ग्रहण, वासलातको आकार र गुणस्तर, शाखाहरु र एटिमहरुको व्यापक सञ्जाल र ग्राहकहरुकोे सन्तुष्टि प्रति समर्पित पारङ्गत दक्ष पेशाकर्मीहरु नै नबिल बैंक सधैं अग्रणी बैंक बन्नुको आधार रहेको व्यवस्थापनको दाबी छ ।