काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड ‘नवील ब्यालेन्स फण्ड–१’को खूद सम्पत्ति मूल्य(एनएभी) घटेको छ । 

चैत मसान्तको तुलनामा बैशाख मसान्तमा एनएभीमा ३४ पैसाको गिरावट आएको हो । चैत मसान्तसम्म यो फण्डको प्रति इकाईको खूद सम्पत्ति मूल्य २४ रुपैयाँ ८७ पैसा रहेकोमा बैशाखमा घटेर २४ रुपैयाँ ५३ पैसा कायम भएको हो । 

यो स्किमले बिहीबार प्रकाशन गरेको बित्तीय विवरण अनुसार ७५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले बैशाख मसान्तसम्म ७२ वटा सूचिकृत कम्पनीको सेयरमा ९७ करोड ९३ लाख लगानी गरेको छ । यस्तै, ११ करोड ४४ लाख विभिन्न ऋणपत्र र १ करोड ३ लाख सूचिकृत नभइसकेका सेयरमा लगानी गरेको छ । 

चैत मसान्तसम्म ७ करोड ७८ लाख खूद घाटा व्यहोरेको यो फण्डले बैशाख मसान्तसम्म आइपुुग्दा अझ बढी १० करोड ३७ लाख घाटा व्यहोर्नुपरेको छ । 

कुल सेयरमध्ये यो स्किमले सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास बोर्डको ६५ हजार ६० कित्ता सेयर खरीद गरेको छ । यो स्किमको अन्तिम कारोबार मूल्य प्रति इकाई १९ रुपैयाँ ९ पैसा रहेको छ । 

यसैगरी, नवील इन्भेष्टमेन्ट बैंकिंगकै दोश्रो म्युुचुुअल फण्ड नवील इक्वीटी फण्डको खूद सम्पत्ति मूल्य पनि घटेको छ । चैत मसान्तसम्म १० रुपैयाँ १९ पैसा रहेको एनएभी बैशाख मसान्तसम्ममा १० रुपैयाँ ११ पैसामा झरेको हो । 

१ अर्ब २५ करोडबाट सुरु भएको यो स्किमले बैशाख मसान्तसम्म ३४ करोड ४० लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा, ३ करोड १९ लाख सूचिकृत नभइसकेका सेयरमा लगानी गरेको छ भने १२ करोड ५० लाख फिक्स्ड डिपोजिटमा राखेको छ । 

चैत मसान्तसम्म २ करोड ३३ लाख खूद नाफामा रहेको यो स्किमको नाफा घटेर बैशाख मसान्तसम्म १ करोड ३७ लाखमा झरेको छ । 

कुल खरीद गरिएको सेयरमध्ये यो स्किमले सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको २४ हजार ९ सय ३० कित्ता सेयर खरीद गरेको छ । यो स्किमको अन्तिम कारोबार मूल्य प्रति इकाई १० रुपैयाँ रहेको छ ।