काठमाण्डौ । टप वाणिज्य बैंकमध्येको एक नवील बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कमालको प्रगति हासिल गर्दै खुद नाफा करिब ३१ प्रतिशतले बढाएर २ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ ।

बैंकले बुधबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब ५ करोड खुद नाफा रहेकोमा यो वर्ष सोही अवधिमा बढेर २ अर्ब ६८ करोडको उचाईमा पुगेको हो ।

बैंकको संचालन मुनाफातर्फ पनि राम्रो प्रगति देखिएको छ । अघिल्लो वर्ष यो अवधिमा ३ अर्ब ३ करोड रुपैयाँ रहेको संचालन मुनाफा यो वर्ष चाहि ४ अर्ब १० करोडको उचाईमा पुगेको छ ।

बैंकले यो अवधिमा १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी ९० अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब १३ अर्ब निक्षेप संकलन गरी ७० अर्ब ७४ करोड कर्जा परिचालन गरेको थियो । यो बैंकको सीसीडी रेसियो  ७९.७५ प्रतिशत कायम भएको छ ।

यो बैंकको हाल चुक्तापुँजी ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ८ अर्ब ९ करोड रुपैयाँ जम्मा भएको छ । तरलताको चरम अभाव हुँदा समेत यो बैंकको कस्ट अफ फण्ड बढेको देखिएन । तेश्रो त्रैमाससम्म बैंकको कस्ट अफ फण्ड मात्र २.२८ प्रतिशत रहेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ८५ पैसा, प्रति सेयर नेटवर्थ २३० रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात २७.३१ गुणा कायम भएको छ ।