काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले अँग्रेजी नयाँ वर्षको अवसर पारेर संस्थागत परामर्शदाता सेवाअन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । 

यस्तो क्लिनिकबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि निकै उपयोगी हुने कम्पनीको दाबी छ । 

बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न सुरु गरेको परामर्श सेवा हो । ग्राहकहरुले नबिल इन्भेष्टमेन्टका लगानी विशेषज्ञहरुद्वारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्नसक्ने बताइएको छ । 

यस्तो क्लिनिकबाट सेवाग्राहीले ईक्विटी परामर्श, लगानी व्यवस्थापन सम्बन्धी परामर्श, कर्जा तथा ऋण सम्बन्धी परामर्श सेवा पाउनेछन् । 

यस्तै, पूँजी संरचना, दैनिक कार्यसंचालन पूँजीव्यवस्थापन सम्बन्धी वित्तीय परामर्श सेवा, व्यापार पुनरसंरचना तथा पुनरगठन सम्बन्धी वित्तीय परामर्श सेवा, व्यापार÷व्यावसाय विस्तार सम्बन्धी परामर्श सेवा, व्यापार सुरु गर्ने, सम्पत्ति व्यवस्थापन, पोर्टफोलियो संरचना निर्माण, पोर्टफोलियो फेरबदल तथा पुनरसंरचना, शेयर खरिद तथा बिक्री गर्ने निर्णय सम्बन्धी परामर्श सेवा समेत पाउने कम्पनीले जनाएको छ । 

यस्तै निश्चित फिर्ति लगानी सम्बन्धमा परामर्श सेवा, सम्पत्ति वा धन व्यवस्थापन, व्यापार रणनीति र बजारीकरण रणनीति सम्बन्धी परामर्श सेवा समेत पाइने बताइएको छ । 

यस्तो सेवा नेपालमा हालसम्म कुनै पनि इन्भेष्टमेण्ट बैकिङ्ग(मर्चेन्ट बैंक)ले प्रदान गरेका छैनन् ।  यो सेवा विस्तार गर्ने नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग पहिलो संस्था रहेको दाबी गरिएको छ । 

यस्तो सेवा सार्वजनिक विदाको दिनबाहेक प्रत्येक शुक्रवार बिहान १० बजेदेखि दिनको १ः०० बजेसम्म संचालनमा रहनेछ । एक पटक यो सेवा लिन आउँदा रु. १००० को टिकट काट्नु पर्ने र यो टिकटबाट एक महिनासम्मको प्रत्येक शुक्रबार पुनः बिना कुनै शुल्क परामर्श लिन सकिने व्यहोरा कम्पनीले जनाएको छ ।