काठमाण्डौ । कोभिड कहरका बीच नवील बैंकले लगानीकर्ताहरुलाई बम्पर लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको सोमबार अपरान्ह बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ३५.३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

बैंकले सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

बैंकले अघिल्ला दुई आर्थिक वर्षमा १२ प्रतिशतका दरले बोनस सेयर वितरण गरेको थियो । त्यसबाहेक नगद लाभांश वितरण गरिएको थियो । तर, पूँजी वृद्धिबाट साइज ठूलो बनाउने उद्देश्यले यसपटक बम्पर बोनस सेयर दिने निर्णय भएको हो । 

बैंकको हालको चुक्तापूँजी १० अर्ब ९ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर १३ अर्ब हाराहारीमा पुग्नेछ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ । 

वाणिज्य बैंकहरुमध्ये यो वर्ष नवीलले सबैभन्दा धेरै लाभांश घोषणा गरेको हो । गत वर्ष भने एनएमबी बैंकले सबैभन्दा धेरै लाभांश वितरण गरेको थियो ।