काठमाण्डौ । दोश्रो बजारमा मूल्यका हिसाबले ‘टप फोर’ वाणिज्य बैंकको रुपमा स्थापितमध्ये २ वटाले लाभांश घोषणा गरिसकेका छन् ।

चारमध्ये २ वटा बैंकहरुले भने लाभांश घोषणा गर्न बाँकी छ । त्यसमध्ये एउटाको निकट भविष्यमै घोषणा हुँदैछ भने बाँकी अर्कोको केही समय लाग्ने देखिन्छ । 

लामो समयदेखि नेपाली सेयर बजारको हटकेक स्क्रिप्टको रुपमा रहँदै आएको नवील बैंकले घोषणा गर्ने लाभांशको विषयमा लगानीकर्तामाझ व्यापक चासो देखिन्छ । 

दोश्रो बजार मूल्यका हिसाबले लिडर बैंकको रुपमा रहेको एनआइसी एशिया बैंकले २९ प्रतिशत बोनस सेयरसहित कुल ३०.५२ प्रतिशत लाभांश वितरणको शुक्रबार बिहान घोषणा गरिसकेको छ । 

एभरेष्ट बैंकले समेत २०.५३ प्रतिशत लाभांश वितरणको घोषणा गरिसकेको छ । एभरेष्ट बैंक दोश्रो बजार मूल्यका हिसाबले दोश्रो स्थानको वाणिज्य बैंक हो । 

हाल सेयरमूल्यका हिसाबले तेश्रोमा रहेको नवील बैंक र चौथोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले निकट भविष्यमै लाभांश घोषणा गर्ने स्रोतले बताएको छ । यो बैंकसँग २८ प्रतिशत हाराहारीमा लाभांश दिनसक्ने क्षमता छ ।  

लगानीकर्ताहरु भने लामो समयदेखि निकै लोभलाग्दो लाभांश इतिहास बनाएको नवील बैंकको विषयमा बढी चासो दिइरहेका छन् । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार नवील बैंकले योपटक १४ प्रतिशत हाराहारीमा मात्रै लाभांश वितरण गर्नसक्छ । तर, तत्कालीन नेपाल बंगलादेश(एनबी) बैंकलाई निकै सस्तो स्वाप रेसियोमा अक्वायर गरेका कारण नवीलसँग पर्चेज गेनको निकै ठूलो रकम रिजर्भमा रहेको छ । रिजर्भमा रहेको यो रकमबाट समेत सेयरधनीलाई लाभांश वितरण गर्न मिल्छ । 

नवील बैंकस्थित उच्च स्रोतकाअनुसार दशैंअघिसम्म लाभांश घोषणा हुनेछ । 

‘हाल धमाधम अडिट चलिरहेको छ । दशैंअघि हाम्रो ब्यालेन्ससिट प्रिमिलिनरी अप्रूभलका लागि पठाउने र लाभांश घोषणा गर्ने हाम्रो योजना छ ।’ बैंकका एक उच्च अधिकारीले बिजशालासँग भने–‘हामीले घोषणा गर्ने लाभांशको विषयमा अहिले नै यति नै भन्न सकिने अवस्था छैन ।’ 

ती अधिकारीकाअनुसार सरकारले एफपीओ जारी गर्दा र मर्जरको क्रममा प्राप्त ‘पर्चेज गेन’बापत निकै ठूलो रकम कर तिर्नुपर्ने भनी घोषणा गरेको र त्यसविरुद्ध बैंकहरु अदालतको शरणमा पुगेकाले यो विषयको निर्णय(आदेश)ले नवीलले घोषणा गर्नसक्ने लाभांश निर्धारण हुनेछ । 

‘यदि अदालतबाट हाम्रो पक्षमा फैसला आयो भने यसपटक पनि हामी गत वर्षहरुजस्तै आकर्षक लाभांश घोषण गर्नेछौं ।’ ती अधिकारी भने–‘तर ठूलो रकम करको रुपमा तिर्नुपर्ने अवस्था बनिदियो भने चौथो त्रैमासमा देखिएको क्षमताअनुसारको लाभांश मात्र आउनेछ ।’ 

यस्तो छ लाभांश इतिहास
नवील बैंकले आर्थिक वर्ष २०७३/७४ मा ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरी कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत नै, आर्थिक वर्ष २०७६/७७ मा ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण थियो । 

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश वितरण थियो । जसमध्ये ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा १८.५० बोनस र ११.५० नगदसहित कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।