काठमाण्डौ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको नागबेली लघुवित्त वित्तीय संस्थाको खूद नाफा घटेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २ करोड ५८ लाख मात्र नाफा कमाएको हो । अघिल्लो वर्ष यस्तो नाफा ३ करोड ३७ लाखको उचाईमा थियो । 

कम्पनीले व्यवसाय बिस्तारमा ध्यान नदिएका कारण खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ७ करोड ३० लाख रहेको यस्तो आम्दानी घटेर समीक्षा अवधिमा ६ करोड १५ लाखमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा नागबेलीले २४ करोड ६८ लाख निक्षेप संकलन गरीतथा ४५  करोड ७९ लाख सापटी लिई ७० करोड ५९ लाख बढी कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्ष १७ करोड निक्षेप संकलन गरी ४२ करोड १८ लाख सापटी लिई ६२ करोड ४० लाख बढी कर्जा परिचालन गरेको थियो । 

कम्पनीले समीक्षा अवधिमा १३ करोड बढी ब्याज आम्दानी गरे पनि ६ करोड ८५ लाख बढी ब्याज खर्च भएको देखिएको छ । यसले समेत नाफामा गिरावट आएको देखिन्छ । 

नागबेलीले ७ करोड ६५ लाखमा सीमित जगेडाकोषको आकार बढाई ९ करोड २८ लाखको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा कम्पनीमा खराब कर्जा बढेको छ । अघिल्लो वर्ष १.९७ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर २.३७ प्रतिशत पुगेको हो । ८ प्रतिशतमा सीमित  कस्ट अफ फण्ड बढेर ११.५० प्रतिशत पुगेको छ भने कम्पनीले ३३.६९ प्रतिसेयर आम्दानी  गरेको छ । 

समीक्षा अवधिमा नागबेलीको मूल्य आम्दानी अनुपात ३७.९९ गुणा, प्रतिसेयर नेटवर्थ १७१.८६ रुपैयाँ र कुल सम्पत्तिमा प्रतिफल २.७५ प्रतिशत कायम भएको छ ।