काठमाण्डौ । टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो–२०२३ आइतबार काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न भएको छ। अर्थमन्त्री प्रकाशशरण महतबाट शुभारम्भ भएकोे अटो शोको १५ संस्करणमा ७६ हजार १०० बढी दर्शकले अवलोकन गरेका छन्। 

निकै व्यवस्थित रुपमा सञ्चालित प्रदर्शनीमा उत्कृष्ट रुपमा शृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेस्ट मोडेलका सवारीसाधनहरुका कारण यो प्रदर्शनी निकै भव्य रुपमा सम्पन्न भएको आयोजकको दाबी छ। थुप्रै नयाँ ब्रान्डका सवारीसाधनका कारण यो प्रदर्शनीमा निकै ठूलो भीड लागेको थियो। 

अटो शो विगतमा भन्दा निकै भव्य र वृहत भएको अवलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन्। देशमा चलेको आर्थिक मन्दीका बाबजुद आयोजना गरिएको यो अटो शोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको आयोजकको ठम्याइ छ। 

यसपटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ। त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रालि (विवाइडी)ले जितेको छ भने उत्कृष्ट दुईपांग्रे सवारीसाधनतर्फको स्टल अग्नि मोटोनिक प्रालि (जावा) प्रालिले जितेको छ। 

त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल अवार्ड आयाम इन्टरनेसनल प्रालि (फोर्स मोटर्स) ले जितेको छ र बेस्ट सर्पोटिङ स्टलको बेस्ट अवार्ड पौडेल इन्टरप्राइजेज (लिक्विइमोली स्टुडोजले) जितेको छ। 

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, पत्रकारकातर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिस प्रालिका निर्देशक केशव खत्रीसमेत सदस्य रहनेगरी तीन सदस्यीय छनोट समितिसमेत गठन गरेको थियो।

नाडा अटो शोका सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंकले गरेको थियो। यस वर्षको थप आकर्षणमा याडिया इलेक्ट्रिक स्कुटरले लक्की ड्र गरी एकजना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्थासमेत गरेको थियो। 

नाडा अटो शो व्यवस्थापन समितिका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ९७३१ रहेको छ। विजेताले आफ्नो टिकटसहित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्नुपर्नेछ। 

समापन कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापा, निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल पूर्वअध्यक्ष सुनिल खेतान, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, जनकी अटोमोबाइल एसोसिएसनका निर्वतमान अध्यक्ष तेजनारायण शाह, लम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले प्रदर्शनीमा सहभागी १२० कम्पनीलाई क्रमशः मोमेन्टोसमेत वितरण गरेका थिए। 

नाडाका अनुसार प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाण्डौउपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो। त्यसैगरी प्रदर्शनीको फायर सेफ्टीको सम्पूर्ण कार्य नाडाकै सदस्य कम्पनी हिटको प्रालिले गरेको थियो र प्रदर्शनीको प्रचार–प्रसारको कार्य एभरेस्ट एडले गरेको थियो। 

समापन कार्यक्रममा नाडाका अध्यक्ष थापाले नाडा अटो शोलाई सफल बनाउन सहयोग पुर्याउने सबै सरोकारवाला कम्पनी र संस्थालाई धन्यवाद दिए।