काठमाडौ । नाडा अटो शो–२०२३ आजबाट सुरु भएको छ। 

काठमाण्डौको भृकुटीमण्डपको प्रदर्शनीस्थलमा अटो प्रदर्शनी सुरु भएको हो। प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका हुन्। प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले अब अर्थतन्त्रमा देखिएको समस्याहरु विस्तारै समाधान हुँदै जाने बताए। 

मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए। ‘अर्थतन्त्र लयमा फर्किएसँगै आत्मविश्वास पनि बढ्दै जान्छ’, उनले भने, ‘अनि सेयर बजार, घर–जग्गाको कारोबार र अटोमोबाइल क्षेत्रका समस्या पनि समाधान हुँदै जान्छन्।’

अर्थतन्त्रका सूचकहरु सबल बन्दै गएकोले आर्थिक गतिविधिहरु पनि बढ्दै जाने मन्त्री महतले बताए। 

नेपालीको महान चडापर्वको पूर्वाद्धमा आयोजना भएको यो प्रदर्शनले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमी तथा अटोमोबाइल्ससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन नेपालको विश्वास छ। 

प्रदर्शनीमा करिब १२० वटा स्टल र ब्लक रहेका छन्। प्रदर्शनमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता जनाएका छन्। 

प्रदर्शनमा १६ वटा ब्रान्डका चार पांग्रे, २२ वटा ब्रान्डका दुईपांग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ। 

हाल विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटो कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रस्ट पार्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायमा नकारात्मक प्रभाव पार्नुका साथै सवारीसाधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ। यस अवस्थामा यो अटो शोले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याइ छ। 

अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सहप्रयोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खाल्ती, अफिसियल इन्टरनेट पार्टनर वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि, हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्टिललजस्ता संस्थाहरु छन् तथा प्रदर्शनी व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिस रहेको छ। 

यो प्रदर्शनी भदौ ३१ गतेसम्म चल्नेछ।