काठमाण्डौ । नाडा अटो एक्सपो–२०२३का लागि स्टल निर्धारण गर्न आज लटरी ड्र गरिएको छ। 

आयोजक संस्था नाडा अटोमोबाइलस एसोसिएसन अफ नेपालको काठमाण्डौको त्रिपुरेश्वरस्थित कार्यालयमा लटरी ड्र गरिएको हो। नाडा अटो एक्सपोमा सहभागी हुने सबै फर्म तथा कम्पनीले समान अवसर प्राप्त गरोस भन्ने उद्देश्यले नाडाले लटरी ड्रमार्फत स्टल वितरण गर्दे आएको छ। 

स्टल बुकिङका लागि नाडाले यसअघि नै सूचना प्रकाशित गरिसकेको थियो। 

नाडा अटो एक्सपोको १५ औं संस्करण आउँदो भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म काठमाण्डौको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना हुनेछ। प्रदर्शनीमा सहभागी हुने अटोमोबाइल कम्पनीहरुले आफ्ना नयाँ मोडलका सवारीसाधनहरुको विक्रीका लागि विभिन्न छुट र सुविधासहितका प्याकेजहरुसमेत दिने भएकोले यो प्रदर्शनी विगतका प्रदर्शनीहरुभन्दा भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने अपेक्षा आयोजकले राखेको छ। 

प्रदर्शनीमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने आशा आयोजकको छ। प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिस प्रालिले गर्नेछ।

दर्शकहरुले प्रर्दशनीमा विद्युतीय सवारीसाधनलगायत ४ वर्षपछि हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउनेछन्। खासगरी प्रदर्शनीमा विभिन्न ब्रान्ड र मोडेलका सवारीसाधन तथा  त्यसमा प्रयोग हुने टायरट्युब, लुब्रिकेन्ट्स, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणलगायतका विभिन्न सामग्रीसहित कुल ८२ वटा स्टल प्रदर्शनीमा रहनेछन्। जसमध्ये चारपांगे्र सवारीसाधन १७, दुईपांगे्र २३, कमर्सियल सवारीसाधन ६, बैंक तथा वित्तीय संस्था ५, स्पेयर पार्टस, टायर लुब्रिकन्ट्स, कम्पोनेन्ट र एसेसरिज ३१ रहनेछन्।

त्यसैगरी प्रदर्शनीमा अटोमोबाइल व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने बैंक तथा इन्स्योरेन्सजस्ता कम्पनीहरुसमेतको उल्लेख्य रुपमा सहभागिता रहनेछ। 
नाडाले गत वर्ष नाडा ईभी एक्सपो २०२२ समेत आयोजना गरेको थियो।