काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ ७९.५२ प्रतिशतको छलाङ मारेको छ। अघिल्लो वर्षको यही अवधिमा ३५ करोड ८१ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष ६४ करोड ३० लाख पुगेको हो । 

अघिल्लो वर्ष ५५ करोड ८७ लाखमा सीमित संचालन मुनाफा ७४.१४ प्रतिशतले बढेर ९७ करोड २९ लाखको उचाईमा पुगेको छ भने ९० करोड ९१ लाखमा सीमित खूद ब्याज आम्दानी करिब ३६ प्रतिशतले बढेर १ अर्ब २३ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा छिमेक लघुवित्तले १३ अर्ब ९० करोड निक्षेप संकलन गरी तथा ४ अर्ब ४५ करोड सापटी लिएर १९ अर्ब १५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप २७.०४ प्रतिशतले बढाएको देखिएको छ भने सापटी र कर्जातर्फ क्रमशः १४.१७ र १८.७६ प्रतिशतको वृद्धि देखिएको छ । 

अघिल्लो वर्ष यही अवधिमा ८७ करोड ३२ लाखमा सीमित रिजर्बको आकारमा छलाङ हानी छिमेकले १ अर्ब ८१ करोड बनाएको छ । 

अघिल्लो वर्ष ०.१० प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर ०.२६ प्रतिशत पुगेको छ । 

अघिल्लो वर्ष ४७.७६ प्रतिशतमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी ७९.५२ प्रतिशतले बढेर ८५.७४ रुपैयाँको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २८१.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.५३ गुणा कायम भएको छ ।