काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेड । 

केही वर्षसम्म सुस्ताएको यो बैंक राम्रो नाफा कमाएर लगानीकर्तालाई राम्रो रिटर्न दिने बाटोमा पुनः बलियो रुपमा उदाउने संकेतको रुपमा यसलाई हेरिएको छ । 

कुनै बेला नेपालको बैंकिङ उद्योगमा रिटर्नको हिसाबले समेत लिडर बैंकको रुपमा रहेको थियो नेपाल इन्भेष्टमेन्ट बैंक । मेगा बैंकलाई गाभेर सोही बैंक अहिले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रुपमा रहेको छ । 

पहिलो त्रैमासमा यो बैंकले १ अर्ब ५२ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा १ अर्ब १४ करोडमा सीमित थियो । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा १ अर्ब ६२ करोडमा सीमित सञ्चालन मुनाफा समेत बढाएर २ अर्ब ६० करोडको उचाईमा पुर्याएको छ । 

यस्तै, अघिल्लो वर्ष २ अर्ब १२ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ४ अर्ब १६ करोड माथि पुगेको छ । 

व्यवसाय विस्तारमा आक्रामक नीति लिएर नाफामा उछाल आएको देखिए पनि यो बैंकको खराब कर्जाको अनुपात बढेका कारण त्यसको प्रभिजनले वितरणयोग्य मुनाफामा भने धक्का लागेको देखिन्छ । बैंकको अघिल्लो वर्षको पहिलो त्रैमासमा १.५७ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर यो वर्ष ४.८३ प्रतिशत पुगेको छ । 

खराब कर्जाको अनुपात घटाउने हो र यो वर्ष बैंक व्यवस्थापन रिकभरिमा आक्रामक ढंगले लाग्ने हो भने आफ्नो पुरानो विरासत र शान फर्काउनसक्ने सम्भावना देखिन्छ । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १७.८४ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २४.९२ रुपैयाँ रहेको थियो । 

बैंकको मूल्य आम्दानी अनुपात निकै लोभलाग्दो ९.८१ गुणा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १७३.३७ रुपैयाँ रहेको छ । 

बैंकले समीक्षा अवधिसम्म ३ खर्ब ६१ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ४ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ खर्ब ५४ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ३ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

खूद नाफामा सबैभन्दा अगाडि
खूद नाफा आर्जनमा यो बैंक सबैभन्दा अगाडि देखिएको छ । पहिलो त्रैमासमा नवील बैंकले १ अर्ब ४६ करोड, ग्लोबल आइएमई बैंकले १ अर्ब २२ करोड, एनआइसी एशिया बैंकले १ अर्ब १ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १५ करोड, हिमालयन बैंकले १ अर्ब ५ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ३ करोड खूद नाफा आर्जन गरेका छन् । 

नेपाल इन्भेष्टमेन्टको पहिलो त्रैमासको खूद नाफा भने १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।