काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ कमालको प्रगति गरेको छ । खुद नाफा बढे पनि प्रति सेयर आम्दानी(इपीएस) र नेटवर्थ चाहि घटेको छ ।

यो बैंकले खुद नाफातर्फ ६१ प्रतिशतको प्रगति हासिल गरेको हो । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा ६२ करोड ४२ लाखमा सीमित खुद नाफा यो वर्षको सोही अवधिमा बढेर १ अर्ब माथिको उचाईमा पुगेको छ ।

व्यवसायमा वृद्धि भएका कारण खुद ब्याज आम्दानी १ अर्ब ३१ करोडबाट बढेर १ अर्ब ७१ करोडको उचाईमा पुगेको छ ।

बैंकले मंगलबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार ८६ करोड ७१ लाखमा सीमित संचालन मुनाफा यो वर्ष १ अर्ब ३३ करोडको उचाईमा पुगेको छ ।

यो अवधिमा बैंकले ५८ अर्ब ४ करोड निक्षेप संकलन गरी ५३ अर्ब ५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ अर्ब ४३ करोड निक्षेप संकलन गरी ४० अर्ब ८१ करोड कर्जा प्रवाह गरेको थियो ।

यो बैंकको निस्क्रिय कर्जा अनुपात ०.३६ प्रतिशतकै विन्दूमा स्थिर रहेको छ भने प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्षको यो अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९८ पैसा रहेकोमा यो वर्ष घटेर २० रुपैयाँ ३९ पैसामा सीमित बन्न पुगेको हो । यो बैंकको प्रति सेयर नेटवर्थ पनि १६४ रुपैयाँ ५ पैसाबाट घटेर १ सय २६ रुपैयाँ ६० पैसामा सीमित बन्न पुगेको छ । यो बैंकको मूल्य आम्दानी अनुपात १८.११ गुणा कायम भएको छ ।

हाल यो बैंकको चुक्तापुँजी ६ अर्ब ५९ करोड र जगेडा कोषमा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।