काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म५७ करोड ५४ लाख खूद नाफा आर्जन गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिमा ४८ करोड ६९ लाख बढीको मात्र नाफा आर्जन गरेको थियो । यो हिसाबले बैंकले खूद नाफातर्फ समीक्षा वर्षमा १८.१८ प्रतिशतको प्रगति गरेको देखिएको छ । 

यो अवधिमा बैंकले १ अर्ब २५ करोड खूद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ३ करोडमा सीमित थियो । 

समीक्षा अवधिमा मुक्तिनाथको संचालन नाफा ८८ करोड ७८ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा ७२ करोड ८० लाखमा सीमित थियो । 

बैंकले ३० अर्ब ३५ करोड निक्षेप संकलन गरी २५ अर्ब २६ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १६ अर्ब ७७ करोड निक्षेप संकलन गरी १५ अर्ब ३१ करोड कर्जा परिचालन गरेको थियो । यसरी बैंकले निक्षेपतर्फ ८०.९५ प्रतिशत तथा कर्जातर्फ ६४.९२ प्रतिशतको छलाङ हानेको छ । 

अघिल्लो वर्ष ३१ करोड २० लाखमा सीमित जगेडाकोषको आकार समेत २०३.८० प्रतिशतले बढाउँदै ९४ करोड ७९ लाखको उचाईमा पुर्याएको छ । 

मुक्तिनाथ बैंकमा खराब कर्जाको अनुपात ०.००४४ प्रतिशत मात्र रहेको छ । तर, ७.६६ प्रतिशत रहेको कस्ट अफ फण्ड भने ९.०३ प्रतिशत पुगेको छ । 
समीक्षा अवधिसम्म बैंकको सीडी रेसियो ७४.५७ प्रतिशत, बेस रेट १२.५१ प्रतिशत, इक्वीटीमा प्रतिफल १६.२६ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.६५ प्रतिशत कायम भएको छ। 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२.२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३६.५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.०३ गुणा कायम भएको छ ।