काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आन्तरिक लेखापरीक्षणमा नयाँ व्यवस्था ल्याएको छ। 

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै निफ्राको आन्तरिक लेखापरीक्षणमा नयाँ व्यवस्था ल्याएको हो। 

संशोधित व्यवस्थाअनुसार निफ्राले आन्तरिक लेखापरीक्षकबाट नियमित रुपमा आन्तरिक लेखापरीक्षण गराउनुपर्नेछ। आन्तरिक लेखापरीक्षणको कार्य आउटसोर्स गर्ने भएमा पेसागत प्रमाणपत्रप्राप्त व्यक्ति वा संस्थालाई नियुक्त गर्नुपर्नेछ। 

यसका साथै आन्तरिक लेखापरीक्षणको कार्य आउटसोर्स गर्ने भएमा सम्बन्धित संस्थाले आफ्नो एकजना अधिकृतलाई लेखापरीक्षण समितिको सदस्यसचिवको जिम्मेवारी तोक्नुपर्नेछ। आन्तरिक लेखापरीक्षकले कम्तीमा त्रैमासिक रुपमा आफ्नो प्रतिवेदन सीधै लेखापरीक्षण समितिसमक्ष पेस गर्ने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकले गरेको छ। 

उक्त प्रतिवेदनमा आन्तरिक लेखापरीक्षणमा संलग्न जनशक्तिको विवरण र सो कार्य सम्पन्न गर्न लागेको कार्य दिन उल्लेख गरेको हुनुपर्नेछ।