काठमाण्डौ । पूर्वाधार विकास बैंकका रुपमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले अब कुनै कर्जा असुली नभएमा धितो बेचबिखन गरी साँवा र ब्याज उठाउन पाउने भएको छ। 

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकका लागि जारी गरिएको निर्देशन, २०७५ मा थप व्यवस्था गर्दै निफ्रालाई यस्तो सुविधा प्रदान गरेको हो। जसअनुसार निफ्राले कुनै कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्नेछन्। 

नयाँ व्यवस्थाबमोजिम कर्जा असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभएमा आफैँले सकार गर्नुपर्नेछ । सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ, सोही मूल्यमा मूल्यांकन गर्नुपर्ने निर्देशनमा उल्लेख छ। 

यदि धितोको बजार मूल्य कर्जाको लेना रकमभन्दा कम भएमा कम भएजति रकम सोही आर्थिक वर्षमा नाफा–नोक्सान हिसाबमा खर्च लेख्ने व्यहोरा लेखा नीतिमा उल्लेख गर्नुपर्नेछ। तर, यसरी मूल्यांकन गर्दा त्यस्तो गैरबैंकिङ सम्पत्तिबापतको रकम सम्पूर्ण रुपमा हिसाब मिलान नभएसम्म लेना रकममध्येको ब्याज रकमलाई नाफा–नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन र त्यस्तो रकमलाई गैरबैंकिङ सम्पत्तिबापतको नोक्सानी व्यवस्थामा सार्नु पर्नेछ।

यस्तो छ राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकका लागि जारी गरिएको निर्देशन, २०७५ मा गरिएको संशोधन, परिमार्जन र नयाँ व्यवस्था–