काठमाण्डौ । नेको इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ चमात्कारिक प्रगति गरेको छ । 

अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा यो बिमा कम्पनीले खूद नाफा करिब १२० प्रतिशतले बढाएको हो । 

बुधबार प्रकाशित भएको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ३ करोड ३४ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ७ करोड ३३ लाखको उचाईमा पुुगेको हो । 

प्रिमियमबाट हुने आम्दानीतर्फ ११८ प्रतिशतको प्रगति हासिल गर्दै यो वर्ष ३८ करोड ५९ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष ४६ हजार २ सय १ मा सीमित बिमा गर्नेको संख्या बढेर यो वर्ष ९७ हजार ३ सय ४५ पुुगेको छ । यो कम्पनीको बिमा कोषमा २१ करोड ६७ लाख रुपैयाँ जम्मा भएको छ भने रिजर्ब बढेर १४ करोड ७६ लाख पुुगेको छ । यो अवधिमा वार्षिकीकृत प्रति सेयर आम्दानी ४५ रुपैयाँ २६ पैसा, प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ४५ पैसा र मूल्य आम्दानी अनुपात १८.३१ गुणा कायम भएको छ । 

दोश्रो त्रैमाससम्म यो बिमा कम्पनीको चुक्तापूँजी ३२ करोड ४० लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको खूद नाफाबाट यो कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर आगामी फागुन ३ गतेदेखि वितरण गर्दैछ । २० प्रतिशत बोनस वितरणपछि र त्यसपछि प्रस्ताव गरिएको १ सय प्रतिशत हकप्रद समेत स्वीकृत भई निश्कासनपछि यो कम्पनीको चुक्तापूँजी ७१ करोड २८ लाखको उचाईमा पुुग्नेछ ।