पटना । भारत सरकारका स्थानीय अधिकारीहरुले नेपालका एक व्यक्तिले सुनियोजित ढंगले भारतमा कोरोना भाइरसको संक्रमण फैलाउन खोजेको भन्दै गोप्यपत्र सीमा सुरक्षा बललाई लेखेसँगै यो विषयले बबण्डर मच्चिएको छ । 

कोरोना भाइरस संक्रमण रोक्नका लागि भारतले हरसंभव प्रयास गरिरहेको, तर यस्ता प्रयासलाई असफल बनाउन सुनियोजित ढंगले भाइरस संक्रमितहरुलाई नेपालकै एक व्यक्तिको योजनामा बिहारतर्फ छिराएर अवस्था भयावह बनाउन खोजिएको दाबी गर्दै एक स्थानीय प्रशासनले लेखेको पत्र सार्वजनिक गर्दै नवभारत टाइम्सले समाचार प्रकाशन गरेको छ । 

समाचारमा संदिग्ध संक्रमित पठाउने प्रयास भएको भन्दै यो विषयले बिहार सरकारका मन्त्री, प्रशासनका उच्च अधिकारीहरुमा समेत बबण्डर मच्चाइदिएको दाबी गरिएको छ । 

पश्चिम चम्पारण(बेतिया)का जिल्लाअधिकारी कुन्दन कुमारको एउटा पत्र बाहिर आएसँगै सीमापारि(नेपाल)का केही व्यक्ति भारत तथा खासगरी भारतमा सुनियोजित ढंगले कोरोना भाइरसको संक्रमण फैलाउन खोजिरहेको विषय खुलासा भएको समाचारमा दाबी गरिएको छ । 

पुलिस अधिक्षकमार्फत जिल्ला अधिकारीले सीमा सुरक्षा बलको  ४७ औं बाहिनी बटालियनलाई गोप्य पत्र पठाउँदै सीमापारिबाट कोरोना संदिग्धहरुलाई भारतमा प्रवेश गराउने प्रयास भइरहेको भनिएको छ । पत्रका अनुसार ४० देखि ५० कोरोना संदिग्धहरुलाई भारतमा प्रवेश गराउने योजना बनिरहेको गोप्य सूचना आएको उल्लेख छ । यी व्यक्तिहरुको उद्देश्य भारतमा कोरोना संक्रमण फैलाउनु रहेको पत्रमा दाबी गरिएको समाचारमा उल्लेख छ । 

सार्वजनिक भएको गोप्य पत्र । 

....................................................

पत्रका अनुसार भारतमा त्यसरी प्रवेश गराइएका सबै व्यक्ति मुस्लिम हुन् । ती व्यक्तिहरुलाई जालिम मुखिया नामका व्यक्तिले भारतमा प्रवेश गराएका बताइएको छ । जालिम मुखिया हतियार तस्कर रहेका र उनी नेपालको पर्सा जिल्लाको  सेरवाअन्तरगत जगन्नाथपुर गाउँमा बसोबास गर्ने व्यक्ति रहेको पत्रमा उल्लेख छ । 

जालिमले नेपालको सीमा हुँदै सुनियोजित रुपमै कोरोना संक्रमितहरुलाई भारतमा प्रवेश गराएका दाबी गरिएको छ । 

पत्रमा जिल्ला अधिकारीले सीमा सुरक्षाबललाई गस्ती बढाउन र संदिग्ध गतिविधिप्रति निगरानी बढाउन निर्देशन दिएका छन् । 

बेतियाका जिल्ला अधिकारीको यस्तो पत्र बाहिर आएसँगै बिहारका गृह सचिव अमिर सुबानीले सबै सीमा बिन्दूहरुमा कडाईपूर्वक जाँच भइरहेको बताएका समाचारमा उल्लेख छ । यो विषयमा गृह मन्त्रालयलाई समेत जानकारी दिइसकिएको छ । सुबानीले कोही कसैलाई त्यसरी घुस्न नदिइने बताएका छन् । यो विषय नेपालसँग जोडिएका कारण आफ्ना अधिकारीहरुलाई अलर्ट गराइसकिएको उनले भनेका छन् । उनले भने अहिले जुन सूचना प्राप्त भएको छ, संदिग्धहरु भारत प्रवेश गरिसकेका छैनन्, प्रवेश गर्ने तयारीमा छन् ।

पछिल्ला २ दिनमा बिहारमा एकाएक कोरोना संक्रमितको संख्या बढेको बताइएको छ । हालसम्म बिहारमा ६० व्यक्तिमा संक्रमण भइसकेको छ । यहाँका १५ संक्रमित निको भइसकेका छन् भने एकको मृत्यु भइसकेको छ ।