काठमाण्डौ । नेपाल बैंक र कृषि विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि दुवै बैंकले पुस १३ गते (आइतबार) देखि बुक क्लोज गर्दैछन् । आज पुस १० गते (बिहीबार) कायम सेयरधनीहरुमात्र साधारणसभा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

करिब दुई दशकपछि सेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको नेपाल बैंकले आफ्नो ६० औँ वार्षिक साधारणसभा यही पुस २५ गते गर्दैछ । सभामा बैंक प्रस्ताव गरेको चुक्तापुँजीको कुल २५ प्रतिशतका दरले हुन आउने लाभांश पारित गर्नेछ । प्रस्तावित लाभांश १५ प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख १४ हजार ८०० रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

सभामा बैंकको अधिकृत पुँजी रु १० अर्बबाट वृद्धि गरी रु १५ अर्ब कायम गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफामा संशोधन गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

कृषि विकास बैंक लिमिटेडको १३ औँ वार्षिक साधारणसभा पुस २७ गते कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र भक्तपुरको बोडेमा आयोजना गर्दैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट बैंकले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३० प्रतिशत लाभांश पारित गर्ने छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।