काठमाण्डौ । नेपाल सरकार र निजी क्षेत्रको लगानीमा २० अर्ब चुक्तापूँजीसहित स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमीटेडले राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा बुधबारदेखि कारोबार थालेको छ । 

गत माघ २८ गते नेपाल राष्ट्रबैंकबाट इजाजत पाएको यो बैंकले एक भव्य समारोहको आयोजना गरी कारोबार थालेको हो । 

बैंकको कारोबारको औपचारिक सुरुवात अर्थमन्त्री डा. युवराज खतिवडाले गरे । 

रु. ४० अर्ब अधिकृतपूँजी र रु.२० अर्ब जारी पूँजी रहेको यस बैंकमा नेपाल सरकारको १० प्रतिशत, पब्लिक लिमीटेड कम्पनीहरुको करिब ४० प्रतिशत, निजी लगानीकर्ताहरुको करिब १० र बाँकी ४० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

यो हिसाबले बैंकले ८ अर्ब बराबरको लगानी सर्वसाधारणबाट जुटाउने लक्ष्य लिएको छ । ८ अर्ब बराबरकै आइपीओ जारी गरी सर्वसाधारणलाई समेत यो बैंकमा लगानीकर्ताको रुपमा भित्र्याउने बैंकको योजना छ । 

यस बैंकले पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेञ्चर जारी गरी स्रोत परिचालन जस्ता कार्यहरु गर्नेछ ।

सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको यस बैंकले अन्तर्राष्ट्रिय, सार्वजनिक तथा निजी क्षेत्रहरुसँग सहकार्य गरी नेपालको पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन महत्वपूर्ण भूमिका खेल्ने अर्थमन्त्री डा. खतिवडाले विश्वास व्यक्त गरेका छन् । 

कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै बैंक संचालक समितिका अध्यक्ष अनुज अग्रवालले यो बैंक नेपाली जनता र नेपाल सरकारको बैंक भएकोले पूर्वाधारको विकासमार्फत सामाजिक तथा आर्थिक विकासमा सहकार्य गरी लगानीकर्र्ताहरुलाई सामाजिक लाभांश दिने घोषणा गरे ।

हालको अवस्थामा नेपालमा पूर्वाधार विकासका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले राष्ट्रिय योजनाआयोगबाट हालसालै गरिएको एक अध्ययनले नेपालमा सन् २०२५ सम्म यस क्षेत्रमा करिब रु. १०० खर्बको लगानीको आवश्यकता देखिएको बताए । यस आकारको लगानी जुटाउन हाल भएका वाणीज्य बैंक तथा वित्तीय संस्थाहरुबाट मात्र सम्भवन हुने देखेर पूर्वाधार विकास बैंकको परिकल्पना भएको उनले स्मरण गराए । 

बैंकले अन्तर्राष्ट्रिय, सार्वजनिक तथा निजी क्षेत्रहरुसँग हर सम्भव सहकार्य गरी आवश्यक स्वदेशी तथा विदेशीपूँजी जुटाउने, परियोजनामा लगानी गर्ने तथा सो सम्बन्धमा आवश्यक प्राविधिक सहयोग गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रष्ट्याए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पूर्वाधार विकासको लागि आवश्यक दीर्घकालीन स्रोत संकलनका निम्ति बैंकले क्षेत्रगत स्रोतको अवधारणाअन्तर्गत पूर्वाधार सम्बन्धी क्षेत्र जस्तै: उर्जा, पर्यटन, यातायात, स्वास्थ्यआदि क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ विशेष रणनीति बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

साथै संघीय शासन प्रणाली अनुसार आवश्यकता हेरी ७ वटै प्रदेशमा कार्यालय खोली हरेक प्रदेशमा रहेको संभाव्य पूर्वाधार योजनामा समेत लगानी गर्ने लक्ष्य लिइएको उनले सुनाए ।

सीइओ ज्ञवालीका अनुसार बैंकले पूर्वाधार विकास कार्यसँग सम्बन्धित स्वदेश तथा विदेशस्थित सरकारी तथा अर्धसरकारी संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु, बीमा, भेञ्चर क्यापिटल, विभिन्न प्रकारका लगानीकर्ताहरु, मल्टीलेटर वा बाइलेटरल डेभलपमेन्ट एजेन्सिज, तथा सरकार र निजी क्षेत्रहरुबीच समन्वय गरी कार्य सम्पादन गर्न र गराउन एक नोडल संस्थाको रुपमा अगाडि बढ्ने लक्ष्य लिएको बताए ।