काठमाण्डौ । नेपाल बैंक लिमिटेडले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) को मिति तय गरेको छ ।

बैंककोे सञ्चालक समितिको बैठकले ६० औँ वार्षिक साधारणसभासँगै बुक क्लोजको मिति तय गरेको हो ।

करिब दुई दशकपछि सेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको नेपाल बैंकले आफ्नो वार्षिक साधारणसभा यही पुस २५ गते गर्दैछ । सभामा बैंक प्रस्ताव गरेको चुक्तापुँजीको कुल २५ प्रतिशतका दरले हुन आउने लाभांश पारित गर्नेछ । प्रस्तावित लाभांश १५ प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख १४ हजार ८०० रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

सभामा बैंकको अधिकृत पुँजी रु १० अर्बबाट वृद्धि गरी रु १५ अर्ब कायम गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफामा संशोधन गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

सभामा वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफलपछि पारित हुनेछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले पुस १३ गते सेयरधनी दर्ता पुस्तिका (बुक क्लो) गर्ने निर्णय गरेको छ । नेपाल स्टक एक्चेन्ज लिमिटेडमा पुस १० गतेसम्म कारोबार भई नियमानुसार सेयर नामसारी भएका सेयरधनीहरुमात्र साधारणसभा भाग लिन तथा प्रस्तावित लाभांश पाउन योग्य हुने बैंकले जनाएको छ ।