काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गर्दै नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको ३३ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल १९ प्रतिशत लाभांश पारित गरेको हो । जसमा १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश (लाभंश करसहित) रहेको छ ।

बोनस सेयर पारितसँगै बैंकको चुक्तापुँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षमा सम्पन्न सभामा बैंकको खुद नाफा ३ अर्ब ३२ करोड रहेको जानकारी गराइयो । यसैगरी बैंकको निक्षेप ८.४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५.२३ प्रतिशतले बढेर १ अर्ब २७ अर्ब पुगेको छ ।

बैंकको खराब कर्जा अनुपात २.७८ प्रतिशत रहेको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डस् (एनएफआरएस)  बमोजिम तयार वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ ।

बैंक अफ दी इयरबाट पाँचपटक सम्मानित बैंकले युरोमनी नाम अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्सिलेन्स ‘बेस्ट बैंक २०१८’ अवार्ड पनि प्राप्त गर्न सफल भइसकेको छ । गत वर्ष बैंकले इक्रा नेपालद्वारा प्रदान गरिएको ए प्लस स्तरोन्नतिलाई कायम राख्न सफल भएको छ ।

हाल बैंकले ८२ वटा शाखा, १६ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजस्व संकलन एक्सटेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा तथा १२४ वटा एटीएमबाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ ।