काठमाण्डौ। नेपाल फाइनान्स कम्पनी लिमिटेडको रिक्त रहेको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा पानस इनभेस्टमेन्ट प्रालिका तर्फबाट रोजिना श्रेष्ठ नियुक्त भएकी छन्।

काठमाण्डौ–१ नक्सालनिवासी श्रेष्ठलाई बाँकी कार्यकालका लागि संस्थाको गत आषाढ १६ गते सम्पन्न ३२५ औँ सञ्चालक समितिको बैठकको निर्णयबाट नियुक्त गरिएको हो। श्रेष्ठ विभिन्न व्यवसायमा संलग्न रहेकी छन्। 

यसैगरी संस्थाको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा ललितपुर–१९ निवासी आनन्दकृष्ण ताम्राकार नियुक्त भएका छन्। ताम्राकार कृषि विकास बैंक लिमिटेडमा ३० वर्ष कार्य गरी अवकास प्राप्त भएका हुन्। 

सञ्चालकहरु नियुक्तिपछि संस्थामा सात सदस्यीय सञ्चालक समिति बनेको छ। जसमा योजना आयोगमा सदस्य भई कार्य गरिसकेका प्राध्यापक हिरेन्द्रमान प्रधान अध्यक्ष तथा चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, लक्ष्मी महर्जन, रोजिना श्रेष्ठ र आनन्द कृष्ण ताम्राकार सञ्चालक छन्। संस्थाका प्रमुख कार्यकारी अधिकृतमा उद्धवराज थपलिया रहेका छन्।

संस्थाको विगत ८ आर्थिक वर्षको वार्षिक साधारणसभा समेत आगामी भदौ ११ बस्ने जानकारी गराइएको छ। 

विगत ५ वर्षदेखि समस्याग्रस्त अवस्थामा रहेको नेपाल फाइनान्सले गत वर्ष मंसिर २५ गतेबाट नेपाल राष्ट्र बैंकबाट सःसर्त फुकुवा भई सामान्य अबस्थामा कारोबार सुरु गरेको थियो।