काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २१.६२ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ९१ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्तापुँजी भने ८ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। यो हिसाबले बैंकले लगानीकर्ताहरुलाई ५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ८० करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब २७ करोड रुपैयाँ रहेको थियो।

यो त्रैमाससम्म बैंकले खुद ब्याज आम्दानीबापत २ अर्ब ८४ करोड रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ९० करोड रुपैयाँ रहेको थियो। 

बैंकले समीक्षा अवधिमा ६६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले ५६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार २३.९० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३ अर्ब ३१ करोड रुपैयाँ रहेको रिजर्भको आकार समीक्षा अवधिमा बढेर ४ अर्ब ११ करोड रुपैयाँको उचाइमा पुगेको छ। 

समीक्षा अवधिमा बैंकको आधार दर ८.६२ प्रतिशतमा झरेको छ। जुन अघिल्लो वर्ष १०.२० प्रतिशत थियो। 

अघिल्लो वर्ष निष्क्रिय कर्जा (एनपीएल) अनुपात १.७४ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर २.८९ प्रतिशत पुगेको छ। 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५.०१ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.९२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५४.१५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०५६.५२ रुपैयाँ रहेको छ।