काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट १६ करोड ४९ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ३३ करोड ७८ लाख रुपैयाँ र जीवन व्यवसायबाट ५ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको निर्जीवन र जीवन दुवै व्यवसायतर्फको व्यवस्थापन खर्च बढेको छ। यो अवधिमा निर्जीवनतर्फ ४४ लाख २९ हजार रुपैयाँ र जीवनतर्फ ७ लाख ३ हजार रुपैयाँ व्यवस्थापन खर्च भएको छ। गत वर्ष यही अवधिमा यस्तो खर्च क्रमशः १६ लाख ८ हजार रुपैयाँ र ७१ हजार रुपैयाँमात्रै थियो। 

प्रथम त्रैमासमा यो कम्पनीको आयव्यय हिसाबबाट सारिएको नाफाअन्तर्गत निर्जीवन व्यवसायतर्फ ५ करोड ८१ लाख रुपैयाँ र जीवन व्यवसायतर्फ ११ करोड ६४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा आम्दानी क्रमशः ४० करोड ३ लाख रुपैयाँ र ६ करोड ३२ लाख रुपैयाँ रहेको थियो। 

लगानी, कर्जा तथा अन्यबाट हुने आय निर्जीवन व्यवसायतर्फ २० करोड ९४ लाख रुपैयाँ र जीवन व्यवसायतर्फ ३४ लाख ११ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो आय निर्जीवन र जीवन व्यवसायतर्फ क्रमशः १० करोड ८० लाख रुपैयाँ र १ करोड ८५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म यो कम्पनीको निर्जीवन व्यवसायतर्फको बीमा कोषको आकार बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ भने जगेडा तथा कोषको आकार ४ अर्ब ७७ करोड रुपैयाँको भएको छ। गत वर्षको यही अवधिमा निर्जीवनतर्फको बीमा कोषको आकार २ अर्ब ३ करोड रुपैयाँमा सीमित थियो भने जगेडा तथा कोषको आकार २ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो। 

कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फ २ अर्ब १२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यही अवधिमा २ अर्ब २३ करोड आर्जन गरेको थियो। 

यस्तै जीवन व्यवसायतर्फ समीक्षा अवधिमा ३५ करोड १५ लाख बीमा शुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आर्जन ९ करोड ९६ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिककीकृत) ९.६० रुपैयाँ, पीई अनुपात १३४.२६ गुणा, प्रतिसेयर नेटवर्थ १७९.९२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०१.१९ रुपैयाँ कायम भएको छ।