काठमाण्डौ । नेपाल बैंकले निश्कासन गरेको एफपीओमा पहिलो दिन निकै न्यून आवेदन परेको छ । 

पहिलो दिन परेको आवेदनको अवस्था हेर्दा एनएमबी बैंकको भन्दा नेपाल बैंकको एफपीओमा कम आकार्षण देखिएको हो । 

बैंकले दोश्रो बजारको भन्दा १३ रुपैयाँ सस्तो अर्थात प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले सेयर निश्कासन गरेको हो । 

बिक्रीप्रबन्धक सिद्धार्थ क्यापिटलका सुजन बाबुका अनुसार निश्कासन भएको पहिलो दिन शुक्रबार १ हजार २ सय ५८ आवेदकले १ लाख २५ हजार ६ सय ५० कित्ताका लागि ३ करोड ५१ लाख ८२ हजार रुपैयाँ बराबरको मात्र प्रस्ताव पेश गरेका हुन् ।

सेयर कित्ताको हिसाबले यो बैंकको एफपीओमा पहिलो दिन १ प्रतिशत भन्दा कम(०.७१) आवेदन परेको देखिएको छ । 

यो बैंककै एफपीओका लागि धितोपत्र बोर्डले सार्वजनिक निश्कासनको विद्यमान व्यवस्थामै संसोधन गरेर सेयर आवेदन खुलेको पहिलो दिनदेखि नै संस्थागत लगानीकर्ताले समेत आवेदन दिन पाउने व्यवस्था गरे पनि एफपीओमा भने सो समूहको पनि खासै आकर्षण नदेखिएको पाइएको छ । 

बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको हो । 

एफपिओ छिटोमा असार १९ गतेसम्म र ढिलोमा साउन १३ गतेससम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

नेपाल बैंकको एफपीओमा ८ मर्चेन्ट बैंकले अण्डरराइट गरेका छन् । सीबीआइएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, लक्ष्मी क्यापिटल, सनराइज क्यापिटल, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडले बैंकको एफपीओमा प्रत्याभूति गरेका हुन् । यसको अर्थ यो बैंकको एफपीओ सबै बिक्री भएन भने बिक्री नभएको सबै कित्ता यी ८ वटा मर्चेन्ट बैंकले प्रतिबद्धता जनाएअनुसारको प्रतिशतका आधारमा उठाउनुपर्नेछ । 

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्तापूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँको उचाईमा पुग्नेछ । एफपीओबाट प्राप्त ३ अर्ब १८ करोड रुपैयाँ प्रिमियम बैंकको सञ्चित कोषमा जम्मा हुनेछ भने चुक्तापूँजीमा १ अर्ब ७६ करोड ८४ लाख थपिनेछ ।

एफपिओ निष्काशनसँगै बैंकमा सरकारको हाल कायम ६२ प्रतिशत सेयर स्वामित्व घटेर ५१ प्रतिशत कायम हुनेछ भने ३८ प्रतिशत रहेको सर्वसाधारणको स्वामित्व बढेर ४९ प्रतिशत पुग्नेछ ।

बैंकको एफपिओलाई केयर नेपालले आईपिओ ग्रेड ३ को रेटिङ प्रदान गरेको छ, जसको अर्थ औसत आधारहरु रहेको भन्ने हो । बैंकको अवस्था औसत रहेकोले यसको एफपीओ खरीद गर्दा त्यति धेरै जोखिम नहुने भन्ने यो रेटिङको अर्थ हो ।