काठमाण्डौ ।धितोपत्र दोस्रो बजारमा बुधबार नेपाल इन्स्योरेन्स कम्पनीको सेयरभाउ १ हजार रुपैयाँ नाघेको छ ।

कम्पनीको सेयरभाउ हालसम्म कै उच्चविन्दुमा पुगेको हो । सेयरबजारमा दोहोरो अंकको गिरावट आएपनि कम्पनीको सेयरमा सकारात्मक सर्किट अर्थात् १० प्रतिशतले बृद्धि भएको छ । यो कम्पनीको सेयरभाउ ९३ रुपैयाँले बढेर १०२३ रुपैयाँपुगेको हो । 

नेप्सेको तथ्यांक अनुसार यसअघि कम्पनीको अधिकतम सेयरभाउ ९६३ रुपैयाँ थियो । आजको कारोबारमा कम्पनीकोअधिकतम सेयरभाउ १ हजार २३ रुपैयाँ र न्यूनतम ९३१ रुपैयाँ रहेको छ ।

बजार बन्द हुँदासम्म कम्पनीको सेयरभाउ १० प्रतिशतले बृद्धि भई हालसम्मकै उच्च १ हजार २३ रुपैयाँ पुगेको हो । योसँगै धितोपत्र दोस्रो बजारमा सूचीकृत बीमा कम्पनीहरुको सेयर भाउमध्ये कम्पनीको सेयरभाउ दोस्रो बढी हुन पुगेको छ । 
 

नेप्सेमा कम्पनीको १ करोड ६४ लाख ४२ हजार कित्ता सेयर सूचीकृत छ । कम्पनीको हाल कायम चुक्तापूँजी १ अर्ब ४९ करोड ४७लाख रुपैयाँ छ । कम्पनीले चुक्तापूँजी बृद्धि गर्न यसअघि नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता सेयर बिक्री गरेको थियो । 
 

चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३९.१२ रुपैयाँ छ । साथै कम्पनीको प्रतिसेयर नेटवर्थ २०२.६१ रुपैयाँ छ । कम्पनीको मूल्यआम्दानीअनुपात (पीई रेसियो) १८.३८ गुणा छ । 
 

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को लागि समेत कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि र ०.५२६३ प्रतिशत नगद लाभांश गरीकुल १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । 
 

वित्तीय सूचकहरुमा बलियो र वर्षेनी लाभांश समेत वितरण गर्दै आएकाले कम्पनीको सेयरभाउ क्रमशः बढ्दै गएको लगानीकर्ताहरुले बताएका छन् । कम्पनीको वित्तीय सूचकहरु बलियो भएका कारण र हालैमात्र नेपाल पुनर्बीमा कम्पनीको सेयर समेत बिक्री गरेकाले सेयरभाउह्वात्तै बढ्न पुगेको बजार जानकार महेश रिजाल बताउँछन् । 
‘कम्पनीले गतवर्षको समेत लाभांश घोषणा गरिसकेको छ । निर्जीवन 
बीमा कम्पनीहरुमा सबैभन्दा पुरानो कम्पनी र वर्षेनी लाभांश दिइरहने कम्पनी भएकाले बोनस सेयरको मूल्य समायोजनपछि कम्पनीको सेयरभाउ हालसम्मकै उच्चविन्दुमा पुगेको छ’ उनले भने, ‘कम्पनीको वित्तीय सूचकहरु अझै बलियो हुँदै जाने हो भने सेयरभाउअझै बढ्न सक्ने सम्भाबना छ ।’